विचार
सेतै कपाल गरेकी एउटी आमा र हजुरआमाको मनमा लागेका कुरा, सुझाव समेट्दै लेखेकी छु यो चिठी तिमीलाई
प्रिय बालेन्द्र बाबु,
मेरी कान्छी छोरीभन्दा पनि उमेरमा सानो भएकाले ‘तिमी’ नै भनी सम्बोधन गर्छु है!
बालेन्द्र बाबु, मैले आजसम्म तिम्रो हृदय नियाल्न सकेकी छैन, किनभने तिमीले तिम्रो हृदयको झ्याल, ती आँखा, सधैँ कालो चस्माले ढाकेका छौ। तिमीलाई हामीले साँच्चिकै चिन्ने र जान्ने मौका मिलेकै छैन।
काठमाडौँको मेयर हुँदासम्म तिमी परै बसेर काम गर्थ्यौ। आफ्ना विचार हरेक तप्काका जनतामाझ पोख्नुपरेको पनि थिएन तिमीलाई। कालो पहिरन, कालो चस्मा र आक्कलझुक्कल सामाजिक सञ्जालमा रूखो प्रतिक्रिया नै तिम्रो ‘इमेज’ बनिरह्यो। आफ्नो ‘आक्रोशी’ र्याप गीतहरूमार्फत तिमीले धेरै तन्नेरी पुस्ताको हृदय छुन सक्यौ, र सायद यस चुनावमा त्यही पुस्तामार्फत घर घरमा, परिवार परिवारमा ‘अबके बार बालेन सरकार’ नारा गुन्जियो। परिणाम, तिमी प्रधानमन्त्री बन्ने तरखरमा छौ।
अब तिमीले जनता जगाउने स्वदेशगानहरू पनि रच्नेछौ, गाउनेछौ, या गाउन लगाउनेछौ। घन्काइदेऊ मुलुकभर र संसारभरि छरिएका नेपाली बन्धुलाई, देशप्रेम जगाउने, पुर्खाको गौरव चिनाउने, एकै आमाका सन्तान हौँ भनेर देशलाई अँगाल्ने गीतहरू।
अहिलेसम्म त तिम्रो यसखाले ‘एनिग्म्याटिक (रहस्यमयी)’ छविले काम चलेकै थियो। तर, अब तिमीले यो छवि बदल्नुपर्नेछ। किनभने, अब तिम्रो कार्यस्थल उपत्यकाको एउटा पाटोबाट ७७ वटै जिल्लामा फैलिएको छ। त्यति मात्र होइन, राष्ट्रप्रमुख हुँदा तिम्रो दायरा त सीमा र समुद्रपारसम्म फैलिनेछ । हाम्रो समाजमा व्याप्त अनेकन् समस्या समाधान गर्न अहोरात्र खट्नुपर्नेछ।
आशा छ- यी समस्या, चुनौतीसँग जुध्न परिपक्व मस्तिष्क र पौरखी हातहरूको सहकार्यको प्रबन्ध मिलाउने चाँजो तिमी र तिम्रो दलले मिलाउँदै नै होऔला। यसका लागि मुरी मुरी शुभेच्छा!
तिमीसित प्रत्यक्ष भेट नभएकाले म यो चिठीमार्फत नै केही सुझाव दिन्छु है त बाबु !
आँखा
तिमीले अब ‘रहस्यपूर्ण’ नकाब बदलेर जनता सामु उत्रनैपर्छ । उनीहरूसित आमनेसामने भएर बोल्नैपर्छ । दाँत देखाएर, दिल खोलेर बोल। उनीहरूसित आँखा जुधाउनैपर्छ। अनि पो तिम्रो आँखा पनि बोल्नेछन्। गए ती राजा-रजौटाका दिन जब आँखा ढाकेर व्यक्तिगत भावना अरूलाई देखाउँदैनथे।
तिमीले मतदान गर्ने बेला विशिष्टजस्तो नभई अरूसरह नै लाइनमा लागेको मैले टीभीको पर्दामा देखेकी थिएँ। त्यसो गरेर तिमीले साह्रै राम्रो गर्यौ। आममानिसलाई यसरी नै कदर गर्नू। म नै ठूलो, म नै महत्त्वपूर्ण हुँ भनेर कहिल्यै नदर्साउनू।
तिमी विद्यालयमा जानेछौ। त्यहाँका विद्यार्थीसित तिमी रमाउँदा, तिनका टुक्काहरू सुन्दा, तिम्रो आँखामा हाँसो देख्न पाउनुपर्छ ती बाबुनानीले। अस्पतालमा बिरामी भेट्दा वा समवेदना दिन जाँदा तिम्रो आँखामा समानुभूतिका दु:ख या पीडा छचल्किनुपर्छ। आँसु आए झर्न दिनुपर्छ।
बाबु, तिमी आफ्नो मानवता यसरी उर्लन देऊ कि अरूले पनि अनुभूत गर्न सकून्। र्याप गाउँदा त तिम्रो गायक छवि र तिम्रो पहिरन सुहाउने कालो चस्मा त लगाइहाल्नेछौ। नढाक तिम्रो नजर!
छोरी
हाम्रो समाजमा अझै हाबी पुरुषसत्तात्मक सोच परास्त गर्न तिमीले धेरै काम गर्न सक्छौ। औपचारिक तवरमा कानुन र अध्यादेशहरूले यसको जग बसाल्न सहयोग गर्नेछन् नै, देशको नेतृत्व गर्ने तिमी र तिम्रा दलका सदस्य स्वयं परिवर्तनको संवाहक बन्नुपर्छ। यसका लागि तिमी नमुना बाबु र पति बनेर प्रस्तुत हुनुपर्छ। तिम्रो सामाजिक सञ्जाल सञ्चालन गर्ने टोलीले यस्ता कुरा मोबाइलमार्फत जन जनमा पुर्याउन सक्छ।

श्रीमती सबिना काफ्ले र छोरीसहित बालेन। तस्बिर : बालेनको फेसबुक पेज
जस्तो कि तिमी गाडीबाट उत्रिँदा श्रीमतीलाई कुरेर सँगसँगै हिँडेको देख्न पाए, इन्द्रजात्रामा कुमारी दर्शन गर्ने बेलामा गद्दी बैठकको बार्दलीमा तिमीले छोरी बोकेर श्रीमतीसितै उभिएको देख्न पाए कति मन हर्षित हुँदा हुन्। कतिले ‘देख्यौ? छोरीलाई आफैँ बोकेका, कत्ति माया गरेका छोरीलाई!’ भनेर घर घरमा कुराकानी गर्दा हुन्। यसले समाजमा छोरीलाई हेर्ने दृष्टिकोण बदल्दै उनीहरूको सुरक्षा र कदर गर्नुपर्छ भन्ने सिकाउनेछ। पुरुषको भूमिकाबारे बुझाउनेछ।
हेर्दा सानो र मामुली लाग्ने यस्ता कुराले नै हो मानिसको सोच बिस्तारै परिवर्तन हुने ।
समानता
तिमीले मतदान गर्ने बेला विशिष्टजस्तो नभई अरूसरह नै लाइनमा लागेको मैले टीभीको पर्दामा देखेकी थिएँ। त्यसो गरेर तिमीले साह्रै राम्रो गर्यौ। आममानिसलाई यसरी नै कदर गर्नू। म नै ठूलो, म नै महत्त्वपूर्ण हुँ भनेर कहिल्यै नदर्साउनू। दूरदराजमा समेत सानो पिर्कामा रातो कपडाले छोपेर सलामी खाने कुप्रथालाई तिम्रो यस्तै पहलले बदल्न सक्छ।
तिमी प्रधानमन्त्री बनेपछि अति संवेदनशीलबाहेक ट्याँट्याँ टुँटुँ साइरन बजाउँदै, सेनाका गाडीहरूबाट सिपाहीले हात र झन्डा हल्लाउँदै, गाडीको लावालस्कर लगाएर नघुम्नू। त्यसले यात्रुहरूलाई हीनताबोधसँगै रिस पनि जगाउँछ। अझ गाउँतिर जाँदा दूरी छोट्याउन आँगनसम्मै गाडीमा नजानू। गन्तव्य पुग्नुपहिले सय/दुई सय मिटर पैदल नै हिँड्नू। सके चुनावअघि जस्तो आफैँ गाडी हाकेर देशका कुनाकाप्चा पुग्नू। यसले समानताको झल्को दिनेछ।

२१ फागुनको प्रतिनिधिसभा चुनावमा मतदान गर्न लाइन बसेका बालेन। तस्बिर : ब्रिक्रम राई
तिमीले संसद्मा पुग्ने सबै साथीहरूलाई निजी गाडीमा होइन, सार्वजनिक सवारीमा आउजाउ गर्न लगाउन सक्छौ। आफू पनि सिंहदरबार आउँदाजाँदा सार्वजनिक सवारीमै चढ्न सक्छौ। युरोपका प्रधानमन्त्रीहरूजस्तै साइकल चढेर सिंहदरबार आउजाउ गरेको दृश्य देख्न सके त अझ कति गजबको छाप बस्ने थियो।
यति मात्र गर्न सके पनि तिमी वाहवाहका पात्र बन्नेछौ। संसारले तिमीलाई ‘र्यापर इन्जिनियर’ सँगै ‘हरित प्रधानमन्त्री’ का नामले चिन्नेछ।
गीत
र्याप त तिमीले गाएकै छौ। शब्द तिमीलाई फुरिहाल्छ। लाग्छ, तिमी आशुकवि हौ।
देशका विकृतिलाई आफ्ना भावनाहरूसँग बेरेर तिमीले जोडदार र्याप प्रस्तुत गर्यौ। कडा अनि धारिला शब्दमा। तर, तिम्रा हातबाट मधुर बोली/अक्षर पनि झर्छन् भन्ने तिमीलाई विभिन्न छिमेकी राष्ट्रबाट आएका बधाई र शुभकामना सन्देशका जवाफमा, र हालै पितृशोकको सिलसिलामा तिमीले कोरेका मार्मिक सन्देश पनि हामीले पढ्न पायौँ।

त्यसैले आशा छ, अब तिमीले जनता जगाउने स्वदेशगानहरू पनि रच्नेछौ, गाउनेछौ, या गाउन लगाउनेछौ। घन्काइदेऊ मुलुकभर र संसारभरि छरिएका नेपाली बन्धुलाई, देशप्रेम जगाउने, पुर्खाको गौरव चिनाउने, एकै आमाका सन्तान हौँ भनेर देशलाई अँगाल्ने गीतहरू।
अन्त्यमा, तिमी छिटै यस देशको सर्वोच्च प्रमुख कार्यकारी पदमा बहाल हुँदै छौ। अब शान्त र विवेकी मनले, मुटुभरि देशको माया बोकी, पुर्खाको आशीर्वाद लिई देशको मुहार फेर्न लागिपर!
आफूलाई लागेका कुरा भेटेरै भन्न नसके पनि बेलाबेला यसरी लेखेर/बोलेर भन्ने हामी जस्तालाई चाहिँ नभुले है!
आजलाई यत्ति नै!
जय देश!
एउटी आमा
रूपा जोशी