काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

पूर्वाधार

जेठसम्म काम सक्ने तयारी

३ चैत्र २०८२
दाउन्ने सडक खण्डमा यातायात अवरुद्ध भएपछि सडकमै खानाको जोहो गर्दै यातायात मजदुर। सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

गत २४ फागुनमा वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्डको दाउन्नेमा सवारीसाधन आवतजावत ठप्प भयो। नवलपरासीका जिल्ला ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार हिलोका कारण यात्रुवाहक तथा साना सवारीसाधनका यात्रुले घन्टौँ जाममा बस्नुपर्‍यो।

नारायणगढ-बुटवल सडक विस्तार तथा स्तरोन्नतिका क्रममा हाल करिब १४ किलोमिटर लामो दाउन्ने खण्डमा सडक ढलान भइरहेको छ। तर, समयमा काम नसकिँदा सात वर्षदेखि पूर्व-पश्चिम राजमार्गका यात्रुले सास्ती खेप्दै आएका छन्। मनसुनमा थोरै पानी पर्नेबित्तिकै यो सडकखण्ड हिलाम्मे हुन्छ भने हिउँदमा धुलोले यात्रुलाई कष्ट दिँदै आएको छ।

नारायणघाट-बुटवल सडक योजना (पूर्वी खण्ड)का सूचना अधिकारी शिव खनाल आउँदो वर्षदेखि सास्ती दोहोरिन नदिन दाउन्ने सडकमा पश्चिम र पूर्वी खण्ड गरेर ढलान भइरहेको बताउँछन्। दाउन्ने खण्डको पूर्वतर्फ चार किलोमिटर र पश्चिमतर्फ १० किलोमिटर पर्छ।

खनालका अनुसार पूर्वी खण्डको २.७ किलोमिटरको ढलान सकिएको छ। बाँकी १.३ किलोमिटर खण्डमा काम भइरहेको छ। “पूर्वी खण्डमा दैनिक ४० मिटरको काम भइरहेको छ, यही रफ्तार हुने हो भने वैशाखभित्र ढलानको काम सकिन्छ, पूरै काम जेठसम्म सक्ने योजना छ,” उनी भन्छन्।

योजनाका (पश्चिम खण्ड)का सूचना अधिकारी विकास खनालका अनुसार पश्चिमतर्फको २.८ किलोमिटर कालोपत्र भइसकेको तर ढलान गर्नुपर्ने ७.२ किलोमिटरमध्ये तीन किलोमिटरको काम जारी छ।

नवलपरासीको गैँडाकोटदेखि रुपन्देहीको बुटवलसम्म पर्ने नारायणगढ-बुटवल खण्डमा भने रोड मार्किङ, साइनबोर्ड निर्माण, सडकको दायाँ-बायाँ वृक्षरोपण, रंगरोगनजस्ता सडक सुरक्षाका कामबाहेक सडक विस्तार र स्तरोन्नति चालु आर्थिक वर्षको अन्त्यसम्म पूरा गर्ने आयोजनाको लक्ष्य छ। नारायणगढ-बुटवल सडकखण्डको कुल लम्बाइ ११३ किलोमिटर छ।

नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड (४८ किलोमिटर) दुई भागमा विभाजन गरेर सडक विस्तार र स्तरोन्नति थालिएको थियो। दुई लेनको सडक बढाएर २९ किमि खण्डलाई चार लेन, बजार क्षेत्र पर्ने ७० किमि खण्डलाई ६ लेन र दाउन्नेमा १४ किलोमिटरलाई तीन लेन बनाउने गरी काम भइरहेको छ। दाउन्नेबाहेकमा विस्तार तथा स्तरोन्नति काम सकिइसकेको छ। पूर्वी खण्डमा २११ वटै कल्भर्ट निर्माण भइसकेका छन्। पश्चिम खण्डमा २५३ कल्भर्टमध्ये दाउन्नेका दुई वटा बनाउन बाँकी छ।

सडक विभागले साउन २०७९ मै सक्ने गरी चैत २०७५ देखि नै नारायणगढ-बुटवल सडक विस्तार र स्तरोन्नति कार्य थालेको थियो। तर, कोभिड-१९ महामारी, रूख कटान, विद्युत् पोल सार्न ढिलाइ, खानेपानीको पाइपलाइन, स्थानीयको अवरोध, मजदुरका समस्या र ठेकेदार कम्पनीको ढिलासुस्तीले समयमै काम नसकिएको आयोजनाका अधिकारीहरू बताउँछन्। सडक विभागले ठेकेदार कम्पनीलाई पहिलोपटक साउन २०८० सम्म, दोस्रोपटक साउन २०८१ सम्म, तेस्रोपटक साउन २०८२ र चौथोपटक ७ साउन २०८३ सम्म काम सम्पन्न गर्ने गरी म्याद थपेको छ।

सडक विस्तार र स्तरोन्नतिको काम चाइना कन्स्ट्रक्सन प्रालिले १६ अर्ब ९९ करोड रुपैयाँमा ठेक्कामा लिएको हो, जसमा गैँडाकोट-दाउन्ने (पूर्वी खण्ड)को लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवल (पश्चिम खण्ड)को लागत सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ।