काठमाडौं । पोखरामा सञ्चालन भएको प्रधानमन्त्री कप (पीएम कप) क्रिकेट गण्डकी प्रदेश छनोट प्रतियोगितामा घरेलु टोली कास्कीले उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा नवलपुरलाई ४८ रनले पराजित गर्दै कास्की लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । यसअघि अघिल्लो वर्ष समेत कास्कीले उपाधि आफ्नो पोल्टामा पारेको थियो । फाइनल खेलमा कास्कीले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर २४० रन बनायो । उपाधिका लागि २४१ रनको विजयी लक्ष्य पछ्याएको नवलपुर ४३ ओभरको दोस्रो बलमा जम्मा १९२ रन बनाएर ‘अलआउट’ हुन पुग्यो ।
कास्कीको जितमा अर्जुन कुमाल नायक बने । उनले १३१ बलमा १११ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्याए ।
सुभास भण्डारीले ५३ बलमा ४२ रन बनाए । अन्तिम समयमा कृष्ण पौडेलले आक्रामक ब्याटिङ गर्दै १४ बलमा २७ रन जोड्दा टोलीको स्कोर प्रतिस्पर्धात्मक बनेको थियो ।
बलिङतर्फ नवलपुरका अपराजित पौडेल र कमल परियारले समान दुई/दुई विकेट लिए भने मुन्ना नेपाली र सुदीप अर्यालले एक/एक विकेट हात पारे ।
नवलपुरले सन्तोषजनक सुरुआत गरे पनि ठूलो साझेदारी गर्न सकेन । गौरव विश्वकर्माले २६ र अनिश गुरुङले १५ रन बनाए । दीपक डुम्रेले ३६ रनको योगदान दिए पनि अन्य ब्याटर टिक्न नसक्दा टोली दबाबमा परेको थियो ।
कास्कीका लागि कृष्ण पौडेलले चार विकेट तथा कप्तान विपीन खत्री र सुभाष भण्डारीले समान दुई/दुई विकेट लिए भने सिब्रिन श्रेष्ठले एक विकेट हात पारे ।
कास्कीका अर्जुन कुमाल ‘प्लेयर अफ दि सिरिज’ तथा प्रतियोगिताको उत्कृष्ट ‘व्याटर’ समेत घोषित भए । अर्जुनले प्रतियोगितामा दुई सतकसहित ३२७ रन बनाए । प्रतियोगितामा सर्वाधिक १२ विकेट लिएका कास्कीका विपीन उत्कृष्ट बलर घोषित भए ।