काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

विचार

चुनावमा मतदाताको रोजाइ बदलिनु स्वाभाविक सामाजिक प्रक्रिया हो। तर, समयअनुसार यसको प्रवृत्ति बुझ्न नसक्नु नयाँको सफलता र पुराना भनिएकाहरूको असफलताको कारक हो।

५ चैत्र २०८२
अ+
अ-

‘लौ है आयो हरियो साग,’ केही दिनदेखि नसुनिएको आमा उमेरकी महिलाको स्वर एकाबिहानै फेरि सुनियो।

‘थुप्रै दिन भयो नि त तपाईं नआउनुभएको?’ साग किन्दै गर्दा श्रीमती शोभाजीले सोधेको मैले प्रस्टसँग सुनेँ।

‘भोट हाल्न गाउँ गएकी थिएँ, मेलम्ची,’ उहाँको जवाफ थियो।

‘अनि, को को थिए त उम्मेदवार?’

‘घण्टी।’

‘घण्टीको उम्मेदवार चाहिँ को थियो त ?’

‘थाहा छैन। बालेन प्रधानमन्त्री बन्छन् भनेर भोट हालेकी हुँ।’

श्रीमतीजीको थप प्रश्न– ‘तपाईं पनि गाडीमा जानुभा’को हो? बस रिजर्भ थियो रे नि त गाउँ लैजाने।’

‘होइन। मलाई कांग्रेस-माओवादीले लाँदैनन्। आफ्नै पैसाले भोट हाल्न गा’को हो बालेनलाई जिताउन।’

आमाका यी उत्तरहरू मलाई रूपकझैँ लागे।

२१ फागुनको निर्वाचनमा मानिसले मत र मन कसरी बदले भन्ने बताउन यस्ता अनेक दृष्टान्त छन्। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व जनमत प्राप्त गरेको छ। पुराना दलहरूको थोक असफलता र नयाँ (रास्वपा, श्रम संस्कृतिलगायत)को सफलताले केही रुचिकर जिज्ञासा सामुन्ने ल्याएको छ। मानिसमा कोहीप्रति किन यतिविघ्न आकर्षण, अपेक्षा अनि कोहीप्रति किन यति बढी वितृष्णा उत्पन्न हुन्छ? त्यसका के-कस्ता सामाजिक प्रक्रिया हुन सक्छन्‌? मलाई लाग्छ, यतिबेला यिनै प्रश्नहरूप्रतिको विमर्शको खाँचो छ।

सोच निर्माण प्रक्रिया

सोच निर्माण र निर्णय-प्रक्रिया केवल व्यक्तिगत वा प्राकृतिक वा आन्तरिक मनोवैज्ञानिक प्रक्रियाहरू नभई सामाजिक अन्तरक्रिया, सांस्कृतिक मान्यता, शक्ति सम्बन्ध र संस्थागत संरचनाहरूबाट गहिरो रूपमा प्रभावित र निर्मित हुन्छ।

अहिले केही नेता-कार्यकर्ता आफ्नो पराजयको कारण एल्गोरिदम भनिरहेका छन्। लाग्छ कि, एल्गोरिदम यस्तो भयानक खलपात्र हो जसले उनीहरूको सुन्दर संसार ध्वस्त पारिदिएको छ। खासमा प्रविधिको यस पाटोलाई सक्षमतापूर्वक उपयोग गर्न नसक्नु चाहिँ उनीहरूको असफलताको कारण हुन सक्छ।

सामाजिकीकरणले संज्ञानात्मक ढाँचा, प्रज्ञा निर्माण गर्छ। व्यक्तिहरूले परिवार, शिक्षा, धर्म र सञ्चारमाध्यममार्फत संसारलाई कसरी बुझ्ने भन्ने सिक्छन्। यी संस्थाहरूले समाजका मान्यता, मूल्य तथा सोच्ने तरिकाका श्रेणीहरू प्रसारण गर्छन्, जसबाट मानिसले विकल्पहरूको मूल्यांकन गर्ने र निर्णय लिने प्रक्रियाको संरचना निर्माण गर्छन्। त्यसैले बाह्य रूपमा व्यक्तिगत निर्णयजस्तो देखिने कुरा धेरैजसो सामाजिक रूपमा सिकिएको तर्क-विचारको प्रतिबिम्ब हुन्छ।

सामाजिक-सांस्कृतिक मान्यताले ‘तर्कसंगत’ वा ‘उपयुक्त’ निर्णय के हो भन्ने निर्धारण गर्छ। त्यसैले भिन्न भिन्न समाजहरूले भिन्न प्राथमिकताहरूलाई महत्त्व दिन्छन्। जस्तै– व्यक्तिगत सफलता, पारिवारिक दायित्व, सम्मान वा सामूहिक हित। निर्णय-निर्माण प्रक्रिया सांस्कृतिक रूपमा स्थापित अपेक्षाहरूबाट निर्देशित हुन्छ, जसले कुन व्यवहार उचित, नैतिक वा वैध मानिन्छ भन्ने निर्धारण गर्छ। राजनीतिक प्रणाली, आर्थिक अवस्था र प्रभुत्वशाली सार्वजनिक विमर्शहरूले मानिसहरूले प्राप्त गर्ने सूचनालाई र उनीहरूले सम्भव ठानेका विकल्पहरूलाई आकार दिन्छन्। विभिन्न संस्थाहरू र सामाजिक कथन/भाष्यमार्फत समाजले सूक्ष्म रूपमा व्यक्तिहरूलाई केही निश्चित निर्णयतर्फ उन्मुख गराउँछ र अन्य सम्भावनालाई किनारामा धकेल्छ।

कथाकथनको शक्ति

कथाकथन (स्टोरीटेलिङ) अर्थात् न्यारेटिभ फ्रेमिङ वा विशिष्टखाले भाष्य निर्माणले भावनात्मक पहिचान निर्माण गर्छ। प्रभावकारी कथा-निर्माणले जटिल राजनीतिक अजेन्डा र नीतिगत बहसलाई सरल तथा भावनात्मक रूपमा आकर्षक कथानकमा रूपान्तरण गर्छ। जस्तै– ‘राष्ट्रको रक्षा,’ ‘जनताको आवाज,’ ‘भ्रष्टाचारविरुद्धको संघर्ष’ वा ‘जेन-जी सहिदलाई न्याय’ आदि। सरल सुनिने तर अमूर्तजस्ता लाग्ने यस्ता कथानकले राजनीतिक विमर्शलाई तथ्य वा नीतिगत बहसबाट हटाएर भावनात्मक पहिचानतर्फ मोड्छन्।

जब मतदाताहरू उक्त कथामा आफूलाई भावनात्मक रूपमा जोडिएको अनुभव गर्छन्, उनीहरू कथाको नायक (उम्मेदवार वा नेता)सँग पनि गाँसिएको अनुभव (आत्मपहिचान) गर्न थाल्छन्। यस अवस्थामा राजनीतिक निर्णय नीति-कार्यक्रमको तर्कसंगत मूल्यांकनमा आधारित रहँदैन; बरु कथा र त्यससँग जोडिएको भावनात्मक निष्ठामा आधारित हुन थाल्छ। यसरी राजनीति नीतिगत बहसभन्दा बढी प्रतीक, कथा र भावनात्मक पहिचानको क्षेत्रमा रूपान्तरण हुन जान्छ। अनि एल्गोरिदममार्फत गरिने प्रवर्द्धनले लोकप्रियताको धारणा निर्माण गर्छ।

एल्गोरिदमका आधारित पुनरावृत्तिले दुई वटा प्रभाव उत्पन्न गराउँछ। पहिलो, प्रयोगकर्तालाई उक्त कथानक धेरै मानिसले समर्थन गरिरहेका छन् भन्ने लोकप्रियताको धारणा पैदा हुन्छ। अर्को, निरन्तर देखिने एउटै कथाले खास राजनीतिक विचार वा कथ्यलाई सामान्य वा स्वाभाविक सत्यजस्तो देखाउन थाल्छ।

यसो गर्न जान्नु राजनीतिक कौशल हो। अहिले केही नेता-कार्यकर्ता आफ्नो पराजयको कारण एल्गोरिदम भनिरहेका छन्। लाग्छ कि, एल्गोरिदम यस्तो भयानक खलपात्र हो जसले उनीहरूको सुन्दर संसार ध्वस्त पारिदिएको छ। खासमा प्रविधिको यस पाटोलाई सक्षमतापूर्वक उपयोग गर्न नसक्नु चाहिँ उनीहरूको असफलताको कारण हुन सक्छ।

एल्गोरिदम : एक सरल गणित

एल्गोरिदम सामाजिक सञ्जाल प्लेटफर्महरू (जस्तै– फेसबुक, एक्स, टिकटक, इन्स्टाग्राम, आदि)ले कुन कन्टेन्ट (पोस्ट, भिडिओ वा समाचार) तपाईंको फिडमा पहिले देखिने भन्ने निर्णय गर्न प्रयोग गरिने केही निश्चित नियमहरूको प्रणाली हो। यसले खास खाले कन्टेन्टमा तपाईंलाई अभ्यस्त गराउने र बारम्बार त्यस्तै सामग्री देखाउने प्रयास गर्छ/देखाउँछ।

एल्गोरिदमले पहिले तपाईंको व्यवहार बुझ्छ, व्यवहारबाटै सिक्छ। तपाईंले सामाजिक सञ्जालमा कुनै खास प्रकारका कन्टेन्ट निरन्तर हेर्नुहुन्छ; लाइक, सेयर वा कमेन्ट गर्नुहुन्छ, वा भिडिओ वा कुनै श्रव्य-दृश्य सामग्री पटक पटक हेर्नुहुन्छ, खोज्नुहुन्छ भने एल्गोरिदमले तपाईंलाई त्यस्तै सामग्री देखाउन थाल्छ वा तपाईंको मोबाइल वा कम्प्युटरमा त्यस्तै सामग्रीको मात्र बाढी आउन थाल्छ। तपाईं जुन पोस्टमा बढी भुल्नुहुन्छ, त्यसैलाई प्राथमिकतामा राखेर उस्तै कन्टेन्ट पठाउँछ। जुन पोस्टमा तपाईंको संलग्नता, बढी प्रतिक्रिया, लाइक, कमेन्ट, सेयर हुन्छन्, तिनैलाई रोचक र मानिसले मन पराएको ठानेर एल्गोरिदमले धेरै प्रयोगकर्तासम्म पुर्‍याउँछ।

तस्बिर सौजन्य : नेपाली टाइम्स

उदाहरणका लागि, यदि फेसबुकमा तपाईंले कुनै खास पार्टीको, खास नेताको वा खास ह्यान्डलहरूलाई नियमित पछ्याउनुहुन्छ, लाइक, सेयर गर्नुहुन्छ वा समय दिएर हेर्नुहुन्छ भने एल्गोरिदमले तपाईंलाई झन् धेरै त्यस्ता सामग्री पठाउँछ। युट्युबमा त्यस्तै भिडिओहरू सिफारिस गर्छ। तपाईंको खोजमा सबैभन्दा अगाडि पारिदिन्छ। टिकटकमा त अझ तपाईंले कुनै कन्टेन्ट/भिडिओ पूरै हेर्नुभएको छ भने ‘फर यु पेज’ मा त्यस्तै प्रकारका भिडिओ धेरै देखाउँछ। केही समयको प्रयोगपछि व्यक्ति जे देखाइरहेको हुन्छ, त्यही सूचनामा अभ्यस्त हुने, भर पर्ने र विश्वस्त हुन थाल्छ। उसले त्यहीबाट प्राप्त सूचनाका आधारमा आफ्नो मत बनाउँछ। यो एउटा स्वचालित निर्णय-निर्माण प्रक्रिया हो।

यसपटकको चुनावको सँघारमा आमरूपमा उपलब्ध र प्रचारित-प्रसारित दुई फिल्म दिमाग खराब, झरीपछिको इन्द्रेणी र बहुप्रचारित बीबीसीको वृत्तचित्र कागताली मात्र थिएनन्। यस्ता कथानकले मानिसलाई भावनात्मक रूपमा जोड्ने मात्र होइन, संवेदनशील बनाउने ताकत पनि राख्छन्।

सामाजिक सञ्जालका एल्गोरिदमहरूले सामान्यतया त्यस्ता सामग्रीलाई प्राथमिकता दिन्छन्, जसले बढी सहभागिता (जस्तै– सेयर, प्रतिक्रिया, टिप्पणी) उत्पन्न गर्छ। राम्रोसँग तयार गरिएको राजनीतिक कथा तीव्र गतिमा फैलिन्छ र प्रयोगकर्ताहरूको ‘फिड’ मा पटक पटक देखा पर्छ। यस प्रकारको एल्गोरिदमका आधारित पुनरावृत्तिले दुई वटा प्रभाव उत्पन्न गराउँछ। पहिलो, प्रयोगकर्तालाई उक्त कथानक धेरै मानिसले समर्थन गरिरहेका छन् भन्ने लोकप्रियताको धारणा पैदा हुन्छ। अर्को, निरन्तर देखिने एउटै कथाले खास राजनीतिक विचार वा कथ्यलाई सामान्य वा स्वाभाविक सत्यजस्तो देखाउन थाल्छ।

राजनीतिक मनोविज्ञानमा यसलाई प्रायः ‘ब्यान्डवागन’ प्रभाव अर्थात् मानिसहरू बहुसंख्यकले समर्थन गरिरहेको देखिने विकल्पतर्फ आकर्षित हुने प्रवृत्ति भनिन्छ जुन स्वाभाविक मानवीय प्रवृत्ति हो।

तस्बिर : रास्वपा फेसबुक पेज

अर्को महत्त्वपूर्ण कुरा, ‘माइक्रो-टार्गेटेड’ प्रसारण हो। डिजिटल प्लेटफर्महरूको विभिन्न सामाजिक, आर्थिक, वैचारिक समूहलक्षित यसखाले प्रसारणले मतदाताको विश्वास सुदृढ पार्न भूमिका खेल्छ। युवा, मध्यम वर्ग, किसान, निश्चित भूगोल वा कुनै विशेष वैचारिक समूहका लागि फरक फरक कथानक र सन्देश तयार गरिन्छ। यसपटकको चुनावमा प्रस्ट देखिएको अर्को यथार्थ के थियो भने, विदेशमा बस्ने नेपालीले नेपालमा रहेका आफन्तलाई कुनै अमुक चुनावचिह्‌नमा भोट हाल्न आग्रह अनि दबाबसमेत दिइरहेका थिए। विदेशमा बस्ने नेपालीलाई लक्षित गरेर त्यस्तै कन्टेन्टहरू प्रसार गरिएका थिए।

भावनात्मक पहिचानमा कथाकथन

सशक्त कथाकथनले सहानुभूति र भावनात्मक संलग्नता उत्पन्न गराउँछ। सिनेमा हेरिरहँदा पात्रका दुःखमा हामी अनायासै रुनुको कारण यही हो। यस्तो भावनाले मानिसमा विकल्पहरूको मूल्यांकन वा छनोट गर्ने तरिकालाई प्रभावित गर्न सक्छ, सूक्ष्म रूपमा निर्णय क्षमतालाई निर्देशित गर्न सक्छ। खासगरी श्रव्य-दृश्य माध्यमद्वारा कथ्ने कथामा यस्तो सामर्थ्य बढी हुन्छ। यसपटकको चुनावको सँघारमा आमरूपमा उपलब्ध र प्रचारित-प्रसारित दुई फिल्म दिमाग खराब, झरीपछिको इन्द्रेणी र बहुप्रचारित बीबीसीको वृत्तचित्र कागताली मात्र थिएनन्। यस्ता कथानकले मानिसलाई भावनात्मक रूपमा जोड्ने मात्र होइन, संवेदनशील बनाउने ताकत पनि राख्छन्।

प्रभावकारी राजनीतिक कथाकथनले अमुक नेतालाई ‘बाहुबली’, उद्धारकर्ता, विपक्षीलाई मात खुवाउन सक्ने, संकटमा परेका जनताको उद्धारकजस्ता अनेक रूपमा प्रस्तुत गर्छ। उम्मेदवारलाई नायक र खलनायक स्थापित गर्न आशा, भय, असन्तोष, वितृष्णाजस्ता भावनालाई सक्रिय बनाउँदै मतदाताको छनोट प्रभावित गर्छ।

चुनावी अभियानमा काव्यात्मक छनक दिने नारा, भाषण, प्रतीकहरूले मतदातामा भावोत्तेजक अपिल गर्छ। एउटा प्रमाण त बालेन्द्र साह नै हुन्। उनले सम्पूर्ण चुनाव अवधिमा ५/६ ठाउँमा गरी जम्मा आधा घण्टाजति मात्र बोले होलान्, भाषण गरे होलान्, त्यसमा पनि राजनीतिक दृष्टिकोण र विचारका कुराभन्दा भावनात्मक कुरा नै बढी हुन्थ्यो, जसले मानिसमा एक प्रकारको आग्रह र आकर्षण उत्पन्न गरायो। उनले राष्ट्रिय मिडियामा अन्तर्वार्ता दिन आवश्यक ठानेनन्, बरु मतदातासँग अनौपचारिक कुराकानीमा समय बिताए। त्यहाँ ‘पोलिटिक्स’ पनि थियो र ‘पोयटिक्स’ पनि। कुन कन्टेन्ट सोसल मिडियामा सेयर गर्ने भन्ने सवालमा उनको टोली सजग देखिन्थ्यो।

यसरी भनिने कथाको महत्त्व के हो भने, तिनले जटिल विचारलाई सरल बनाउँछन्। अमूर्त वा जटिल विषयलाई अनुभवजन्य र बुझ्न सजिलो रूप दिन्छ। पात्र, द्वन्द्व र परिणाममार्फत सूचना प्रस्तुत गर्दा केही विशेष व्याख्या वा निर्णयहरू स्वाभाविक र उचितजस्ता देखिन थाल्छन्। जेन-जी आन्दोलनले नयाँलाई आह्‌वान गरेका हुन् र पुरानाहरू तिरष्कारयोग्य छन् भन्ने संकथन जटिल राजनीतिक प्रक्रियाको सरलीकृत भाष्य बन्न गएको थियो।

चतुर राजनीतिकर्मीहरूले चुनावको समयमा प्रमुख कथानक वा सार्वजनिक विमर्शलाई आकार दिन विभिन्न रणनीतिक अभ्यासहरू अपनाउँछन्। र, तिनै सफल हुन्छन्। केही उदाहरणः

सरल तर भावनात्मक कथामार्फत मुद्दाको ‘फ्रेमिङ’

राजनीतिकर्मीले जटिल नीतिगत मुद्दाहरूलाई ‘संकटमा परेको राष्ट्र’, ‘विकास बनाम भ्रष्टाचार’, ‘जनता बनाम अभिजात वर्ग’, ‘पुराना बनाम नयाँ’ जस्ता शक्तिशाली कथानकमा रूपान्तरण गर्छन्। यसप्रकारको फ्रेमिङले मतदाताले समस्यालाई कसरी बुझ्ने र कुन समाधान वैध देखिने भन्ने दिशालाई निर्देशित गर्छ।

एल्गोरिदममा आधारित दृश्यता तथा सहरी युवाबीचको सहकार्य-साझेदारीले बालेनको डिजिटल लोकप्रियतालाई वास्तविक मतमा रूपान्तरण गर्न मद्दत गर्‍यो, जसले स्थापित दलका उम्मेदवारहरूलाई पराजित गर्दै उनलाई अप्रत्याशित विजय दिलायो।

बहुसञ्चारमाध्यममार्फत निरन्तर पुनद्धोरण

कुनै कथानक तब प्रमुख वा हाबी बन्छ, जब त्यो भाषण, पार्टी नेटवर्क, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र प्रतीकात्मक कार्यक्रमहरूमा निरन्तर दोहोरिन्छन्। यस्तो व्यापक पुनरावृत्तिले उक्त कथालाई सामान्य र स्वाभाविकजस्तो बनाउँछ; मानौँ त्यो (मात्र) नै सही हो।

प्रतीकात्मक नायक, खलनायक र सामूहिक पहिचानको निर्माण

प्रभावकारी राजनीतिक कथाकथनले अमुक नेतालाई ‘बाहुबली’, उद्धारकर्ता, विपक्षीलाई मात खुवाउन सक्ने, संकटमा परेका जनताको उद्धारकजस्ता अनेक रूपमा प्रस्तुत गर्छ। उम्मेदवारलाई नायक र खलनायक स्थापित गर्न आशा, भय, असन्तोष, वितृष्णाजस्ता भावनालाई सक्रिय बनाउँदै मतदाताको छनोट प्रभावित गर्छ।

यो एक प्रकारको ‘इको चेम्बर’ कै अवस्था हो, जहाँ एउटै प्रकारको राजनीतिक सन्देश निरन्तर देखिन्छ, वैकल्पिक दृष्टिकोण कम देखिन्छ र चुनावी अभियानअन्तर्गत निर्माण गरिएको कथानक अझ सुदृढ हुँदै जान्छ। यस प्रक्रियाले व्यक्तिको राजनीतिक पहिचान बलियो बनाउने मात्र होइन, चुनावको समय नजिकिँदै जाँदा मतदातालाई सक्रिय रूपमा मतदान वा प्रचार अभियानमा सहभागी हुन प्रेरितसमेत गराउँछ।

यसर्थ, प्रभावकारी कथानक निर्माण, सामाजिक सञ्जालका एल्गोरिदममा आधारित प्रवर्द्धन र लक्षित डिजिटल प्रसारणको संयोजनले आधुनिक चुनावी राजनीतिमा मतदाताको धारणा, भावनात्मक पहिचान र मतदान व्यवहारलाई गहिरोसँग प्रभाव पार्न सक्छ। यसका लागि इन्टरनेटको पहुँच चाहिने नै भयो। रास्वपाको प्रभाव कर्णाली, सुदूरपश्चिम र पूर्वका हिमाली/पहाडी जिल्लामा कम देखिनुमा त्यस क्षेत्रमा इन्टरनेटको अविछिन्न सुविधा नहुनुलाई पनि मान्न सकिन्छ।

मैले खासगरी २०७९ सालको चुनावपछि नै अबको चुनावी प्रचार कार्यकर्ताले भन्दा ज्यालामा खटाइएका प्राविधिक र कम्पनीले गर्ने कुरा लेख्दै, बोल्दै आएको हुँ। त्यसो त प्रायः सबै दलले प्रविधिमा केही खर्च पनि गरेकै थिए। तर, ती कन्टेन्ट मतदातालाई अपिल गर्न सक्ने सिर्जनात्मक कथानक थिएनन्। मुद्दाविहीन यी दलहरूले शिल्पहीन र रणनीतिक कथानक निर्माण गर्न नसक्नु पनि उनीहरूको असफलताको एउटा कारण बन्यो।

सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा पनि डेमोक्रेटिक मत अधिक हुने अनुमान गरिएको थियो। तर, रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ जस्तो सुन्दा सरल तर शक्तिशाली नारा प्रभावकारी रूपमा प्रयोग गरे। यस नाराले अमेरिकाको पतन र पुनरुत्थानको कथा निर्माण गर्दै ट्रम्पलाई गुमेको राष्ट्रिय महानता पुनःस्थापना गर्ने नायकका रूपमा प्रस्तुत गर्‍यो।

२०७९ सालको काठमाडौँ महानगरपालिकाको निर्वाचनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिने युवा, स्थापित शक्ति-संरचनाविरोधी सुधारवादी व्यक्तित्वको बलियो अनलाइन कथानक निर्माण गरे। भाइरल संगीत, छोटा भाषण तथा युवामुखी अभियानहरू टिकटक, फेसबुक, युट्युबमार्फत व्यापक रूपमा फैलाए। एल्गोरिदममा आधारित दृश्यता तथा सहरी युवाबीचको सहकार्य-साझेदारीले उनको डिजिटल लोकप्रियतालाई वास्तविक मतमा रूपान्तरण गर्न मद्दत गर्‍यो, जसले स्थापित दलका उम्मेदवारहरूलाई पराजित गर्दै उनलाई अप्रत्याशित विजय दिलायो।

मतदान गर्दै बालेन्द्र शाह। तस्बिर : नेपाल फोटो लाइब्रेरी

यस्ता उदाहरण अन्यत्र पनि छन्।

सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा पनि डेमोक्रेटिक मत अधिक हुने अनुमान गरिएको थियो। तर, रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ जस्तो सुन्दा सरल तर शक्तिशाली नारा प्रभावकारी रूपमा प्रयोग गरे। यस नाराले अमेरिकाको पतन र पुनरुत्थानको कथा निर्माण गर्दै ट्रम्पलाई गुमेको राष्ट्रिय महानता पुनःस्थापना गर्ने नायकका रूपमा प्रस्तुत गर्‍यो। फेसबुक/ट्विटर जस्ता डिजिटल प्लेटफर्महरूले एल्गोरिदममा आधारित प्रवर्द्धनमार्फत ती सामग्रीलाई व्यापक बनाए। साथै, क्याम्ब्रिज एनालिटिकाजस्ता संस्थासँग सम्बन्धित माइक्रो-टार्गेटेड विज्ञापनहरूले मतदाता समूहलक्षित कथानकसहित सन्देश पुर्‍याए। चुनावमा अरू त अरू लामो समयको त्रासको पर्खाइपछि भर्खरै नागरिकता पाउन सफल आप्रवासी नागरिकले समेत आप्रवासीविरोधी ट्रम्पलाई साथ दिए।

सन् २०१४ को भारतीय आमनिर्वाचनमा पनि भारतीय जनता पार्टीका नरेन्द्र मोदीले आफूलाई ‘विकासमुखी शक्तिशाली नेता’ को डिजिटल कथानक निर्माण गरे। चिया बेच्ने सामान्य व्यक्तिबाट राष्ट्रिय नेतृत्वमा पुगेका मोदीको व्यक्तिगत यात्रा महत्त्वाकांक्षा र सामाजिक उन्नतिको शक्तिशाली प्रतीकात्मक कथा बन्यो।

सिद्धान्तका कुरा

उल्लिखित पृष्ठभूमिलाई सैद्धान्तिक अवधारणामा पनि हेर्न सकिन्छ। यसका लागि म यहाँ भारतीय मूलका अमेरिकी मानवशास्त्री अर्जुन आप्पादुराईको भूमण्डलीकरणका पाँच परिदृश्य सम्झन चाहन्छु– इथ्नोस्केप (मानिसहरूको बसाइँसराइ वा गतिशीलता), टेक्नोस्केप (प्रविधि र प्राविधिक ज्ञानको प्रवाह), फाइनान्सस्केप (पुँजीको प्रवाह/गतिशीलता), मिडियास्केप (सूचना र सञ्चारको निर्बाध प्रवाह) र आइडियोस्केप (राजनीतिक विचार, मूल्य, मान्यता र वैचारिकीको प्रवाह)।

नेपालको आन्तरिक गतिशीलता र एक भूगोल/जनतासँग अर्को भूगोल/जनता कसरी एकाकार भएका छन् भन्ने बुझ्न हामीलाई आप्पादुराईको यी परिदृश्यले सहज तुल्याउँछन्। खासगरी टेक्नोस्केप र मिडियास्केप यहाँ सान्दर्भिक हुन आउँछन्।

चुनावी अभियानका कथानकहरूले ‘जनताविरुद्ध अभिजात वर्ग,’ ‘विकासविरुद्ध भ्रष्टाचार,’ ‘राष्ट्रिय गौरवविरुद्ध बाह्य प्रभाव’ जस्ता प्रतीकात्मक विभाजन निर्माण गर्छन्। जब कुनै एउटा विमर्श सञ्चारमाध्यम र सामाजिक सञ्जाललगायत डिजिटल प्लेटफर्महरूमा हाबी हुन पुग्छ, त्यसले राजनीतिक पहिचानलाई संगठित गर्छ अनि मतदातालाई कुनै विशेष राजनीतिक दल/नेतासँग जोड्न मद्दत गर्छ।

थप केही सैद्धान्तिक अवधारणा पनि केलाऔँ।

प्रभाव, हैकम र व्यावहारिक निर्णय

इटालियन मार्क्सवादी चिन्तक एन्टोनियो ग्राम्सीका अनुसार राजनीतिक शक्ति केवल दमन वा बाध्यकारी उपायहरूद्वारा मात्र कायम रहँदैन; यो मुख्यतः ‘हेजेमोनी’ अर्थात् समाजले सहज बुद्धि (स्वाभाविक सत्य)का रूपमा स्वीकार गर्ने विचारधारा निर्माण र नियन्त्रण गर्ने क्षमतामार्फत पनि कायम रहन्छ।

चुनावी सन्दर्भमा यसको व्याख्या गर्ने हो भने कथाकथनले यस्तो कथा निर्माण गर्छ, जुन स्वाभाविक र व्यापक रूपमा स्वीकार्यजस्तो बनाइन्छ। जब यस्ता कथानकहरू सामाजिक सञ्जाल, सञ्चारमाध्यम र सार्वजनिक विमर्शमा व्यापक बन्छन्, मतदाताहरूले तिनलाई क्रमशः स्वयंसिद्ध सत्य वा प्रामाणिक सत्यका रूपमा आत्मसात् गर्न थाल्छन्।

ज्ञान र सत्यको उत्पादन

फ्रान्सेली दार्शनिक मिसेल फुको ‘शक्ति केवल संस्थागत नियन्त्रणमा सीमित हुँदैन; यो ज्ञानको उत्पादन र ‘सत्यका व्यवस्थाहरू (रेजिम अफ ट्रुथ)’ मार्फत पनि सञ्चालन हुन्छ भन्छन्। चुनावी राजनीतिमा सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्ममा बारम्बार दोहोरिने कथानकहरूले यथार्थको विशिष्ट व्याख्या निर्माण गर्छन्। जस्तो कि को भ्रष्ट छ, को देशभक्त छ, कसले भ्रष्टाचारीलाई कारबाही गर्न सक्छ वा कसले परिवर्तनको प्रतिनिधित्व गर्छ, आदि।

‘राम्रो निर्णय’ के हो भन्ने कुरा समाज, समय र स्थानअनुसार फरक हुन सक्छ। ‘सबैले यस्तै गर्दै छन्, म पनि त्यसै गर्छु,’ ‘यस समयमा यसै गर्नु उत्तम हुन्छ’ भन्ने भावना निर्णय प्रक्रियामा महत्त्वपूर्ण हुने गर्छ

सामाजिक सञ्जालका एल्गोरिदमले केही खास विमर्शलाई मात्र प्रवर्द्धन गर्दा राजनीतिक पात्रहरूबारे एउटा प्रधान ‘सत्य’ निर्माण गर्न मद्दत गर्छ, यसले वैधता र विश्वसनीयताप्रतिको नागरिकको बुझाइलाई प्रभावित तुल्याउँछ।

विमर्श र राजनीतिक अर्थको निर्माण

अर्नेस्तो लाक्लाउका अनुसार विमर्श सिद्धान्तले भाषाको प्रयोग र सामाजिक क्रियाकलापमार्फत कसरी राजनीतिक अर्थ र पहिचान निर्माण हुन्छ भनी व्याख्या गर्छ। यस व्याख्याले राजनीतिक अर्थ र पहिचान पहिलेदेखि नै निश्चित हुन्छन्, प्राकृतिक हुन्छन् भन्ने मान्यतालाई नकार्छ।

तस्बिर स्रोत : मटन डट वर्ल्ड 

चुनावी अभियानका कथानकहरूले ‘जनताविरुद्ध अभिजात वर्ग,’ ‘विकासविरुद्ध भ्रष्टाचार,’ ‘राष्ट्रिय गौरवविरुद्ध बाह्य प्रभाव’ जस्ता प्रतीकात्मक विभाजन निर्माण गर्छन्। जब कुनै एउटा विमर्श सञ्चारमाध्यम र सामाजिक सञ्जाललगायत डिजिटल प्लेटफर्महरूमा हाबी हुन पुग्छ, त्यसले राजनीतिक पहिचानलाई संगठित गर्छ अनि मतदातालाई कुनै विशेष राजनीतिक दल/नेतासँग जोड्न मद्दत गर्छ।

एल्गोरिदममा आधारित दृश्यता र डिजिटल आमवृत्त

फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्रामजस्ता डिजिटल प्लेटफर्महरूले एल्गोरिदम-क्रमबद्धतामार्फत कथानकहरूको दृश्यता (भिजिबिलिटी) निर्धारण गर्छन्। प्रबल भावनात्मक प्रतिक्रिया पैदा गराउने सामर्थ्य भएको सामग्री छिटो फैलिन्छ र ठूलो दर्शक समूहसम्म पुग्छ। चुनावमा कसले प्रमुख कथानकलाई सफलतापूर्वक नियन्त्रण गर्छ, कस्ता कथानकहरूले ‘सामान्य बोध’ निर्माण गर्छन्, ‘सत्य’ उत्पादन गर्छन्, राजनीतिक पहिचान (म यो पार्टीको हुँ) लाई संगठित गर्छ, धेरै हदसम्म विजय उसैको हुने गर्छ।

बिसाउनी

एउटै घटना, कार्य वा परिणामबारे मानिसको बुझाइ फरक हुनुमा हुर्केको, घुलमिल भएको समाजको मान्यता, भाषा र मूल्यहरूले प्रभाव पारेको हुन्छ। सोच्ने तरिका सामाजिक रूपमा सञ्चारित अर्थद्वारा निर्माण हुन्छ। अहिले मानिस सामाजिक सञ्जालले निर्मित, संरचित समाज र त्यसबाट निस्सृत सूचना प्रणालीमा अभ्यस्त छन्। टेक्नोस्केप र मिडियास्केप उनीहरूको साझा ठाउँ हो। हामीले छिमेकीसँग कुरा नगरेको महिनौँ हुन सक्छ, तर दैनिक केही घण्टा सामाजिक सञ्जालमा व्यस्त भइरहेकै हुन्छौँ।

मानिसको गतिशीलता र अपेक्षा यति छिटो छिटो कहिल्यै फेरिएको थिएन। त्यसको प्रभाव समग्र राजनीति र खासगरी चुनावमा कसरी पर्छ भन्ने अनुमान पुराना भनिने दलहरूले लगाउन नसकेको देखियो।

मानिस मूलतः सांस्कृतिक प्राणी भएकाले हाम्रा निर्णयका मापदण्डहरू पनि सांस्कृतिक अपेक्षाद्वारा प्रभावित हुन्छन्। उनीहरू पारिवारिक दायित्व, प्रतिष्ठा, सामाजिक स्थिति, लैंगिक भूमिका, समुदायको स्वीकृति (धेरै मानिस के वा कसको पक्षमा छन्‌) जस्ता सामाजिक नियमहरूलाई ध्यानमा राखेर निर्णय गर्छन्। त्यसैले ‘राम्रो निर्णय’ के हो भन्ने कुरा समाज, समय र स्थानअनुसार फरक हुन सक्छ। ‘सबैले यस्तै गर्दै छन्, म पनि त्यसै गर्छु,’ ‘यस समयमा यसै गर्नु उत्तम हुन्छ’ भन्ने भावना निर्णय प्रक्रियामा महत्त्वपूर्ण हुने गर्छ।

सामाजिक अन्तरक्रियाले तर्क गर्ने ढाँचाहरू निर्माण गर्छ। खासगरी सामाजिक सञ्जाल हाबी भएको यस समयमा विद्यालय, सामाजिक संघसंस्था, धार्मिक गतिविधिमा संलग्नता तथा दैनिक जीवनका अन्तरक्रियामार्फत समाजले विशिष्ट प्रकारका तर्क-पद्धतिहरू सिकाउँछ। समयसँगै व्यक्तिहरूले यी ढाँचालाई क्रमशः आत्मसात् गर्छन्, जसले सोचाइलाई जैविक वा सार्वभौमिकभन्दा बढी सामाजिक रूपमा ढाल्दछ।

प्रविधिको सक्षमतापूर्वक उपयोग महत्त्वपूर्ण हुँदाहुँदै सामाजिक-सांस्कृतिक र अर्थ-राजनीतिकजस्ता विषय छन्, जसले राजनीतिमा प्रभाव पार्दछन्। उदाहरणका लागि, अहिले किन कसैलाई भोट हाल्ने भन्ने कारण फेरिएको छ।

यो विगत वा पारिवारिक पहिचानसमेतबाट विच्छेद र स्वतन्त्र हुन खोजिरहेको पुस्ताको युग हो। मानिसको गतिशीलता र अपेक्षा यति छिटो छिटो कहिल्यै फेरिएको थिएन। त्यसको प्रभाव समग्र राजनीति र खासगरी चुनावमा कसरी पर्छ भन्ने अनुमान पुराना भनिने दलहरूले लगाउन नसकेको देखियो। विमर्श गर्नैपर्ने यो अर्को विषय हो।