उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ।
निर्माणाधीन पक्की पुल बाढीले भत्काएपछि सोही स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो। चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाका अनुसार २८० मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको सो पुल निर्माण गर्न करिब रु ६० लाख खर्च भएको छ।
सो स्थानमा पक्की पुल निर्माण नहुँदा चौदण्डीगढी नगरपालिकाका त्रियुगा नदी पारीका वडा नं १०, ५ र ९ का बासिन्दालाई कठिनाइ भएको थियो।
वर्खामा डुङ्गाको प्रयोग गरेर नदी तर्नुपर्ने बाध्यता थियो। झोलङ्गे पुल निर्माण भएपछि उक्त क्षेत्रका झण्डै पाँच हजार बासिन्दालाई बेल्टार बजार आवतजावत गर्न सहज भएको नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले बताइन्।
त्रियुगा नदीस्थित बेलहीमा २०६७ सालमा नै पक्की पुल निर्माण थालिएको थियो। यसका लागि रु ११ करोड २७ लाख विनियोजन गरिएको थियो । विसं २०७८ मा त्रियुगाको बाढीले पक्की पुलको तीन पिलर र स्ल्याब भत्काएको थियो।