काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

६ चैत्र २०८२
अ+
अ-

मुस्ताङ। यहाँस्थित माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । दिउँसो ४ः०० बजेदेखि परेको निरन्तरको हिमपात र वर्षाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

यहाँस्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हिमपात र वर्षाले वारागुङ मुक्तिक्षेत्र–३ स्याङ्बोचेदेखि माथिल्लो क्षेत्रको दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ । संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले थासाङ गाउँपालिकादेखि नेपाल–चीन कोरलानाकासम्मको ११ केभी विद्युत् प्रसारण लाइनमा हिमपात र वर्षाले प्राविधिक समस्या उत्पन्न भएको जानकारी दिए ।

कार्यालय प्रमुख थकालीले मौसममा सुधार हुनेबित्तिकै विद्युत् प्रसारण लाइनमा देखिएको समस्या आवश्यक मर्मत गरी पुनः सञ्चालन गरिने बताए । यसका लागि मौसममा सुधार हुनेबित्तिकै मर्मतका लागि प्राविधिक टोली त्यसतर्फ पठाइने जानकारी दिए । हिमपात र वर्षाले विद्युत् प्रसारण लाइनमा केकति क्षति भएको भन्ने जानकारी प्राप्त नभइसकेको कार्यालय प्रमुख थकालीको भनाइ छ ।