काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालुवाटारमा आइतबार शिष्टाचार भेट गरेका छन्।
सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे। उनले भने, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन।”
लामिछानेले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले गरेको योगदान मुलुकले सधैँ सम्झिने उल्लेख गर्दै आगामी दिनमा पनि प्रधानमन्त्री कार्कीको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा रहेको बताए।
प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश नहुने गरी काम गर्न सुझाइन्। “युवाहरूसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्। चुनौती धेरै छन्, तर सम्हालिएर अघि बढ्दै देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ‚” उनले भनिन्‚“इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ। विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिनेगरी अगाडि बढ्नुहोला।”
पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै सभापति लामिछानेले यी विषयमा पनि उचित कदम चाल्न आग्रह गरेका थिए।