काठमाडौँ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।
अख्तियारले ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ। अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायत विषयमा अनुसन्धान भइरहेको र छिटै मुद्दा दायर हुने भनि विवरण पेस गरेको थियो।
अख्तियारले तत्कालीन पर्यटन-सचिव अधिकारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू सन्जीव गौतम र राजन पोखरेल‚ उपमहानिर्देशक महेन्द्रसिंह रावल‚ तत्कालीन निर्देशक दिवंगत ध्रुवदास भोछिभोया‚ राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी‚ तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल‚ तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ‚ तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने‚ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी‚ राष्ट्रिय गौरव आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी‚ तत्कालीन उपप्रबन्धक हिमज्योति थापा‚ तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजू‚ तत्कालीन लेखा अधिकृत/उपप्रबन्धक प्रमोद नेपाल‚ तत्कालीन वरिष्ठ लेखा अधिकृत/उपप्रबन्धक सविन फुयाललगायत छन्।