काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अवैध क्रिप्टो (अभौतिक मुद्रा) कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाडौँ २६‚ सामाखुसी क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूले भारततर्फ रकम पठाउन ‘क्रिप्टो करन्सी’ प्रयोग गरी कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मोदिनिपुरका ४१ वर्षीय प्रवेश अली, बाँके नेपालगन्जका ३१ वर्षीय नेत्र रेउले र सर्लाहीका २० वर्षीय दिपी पोखरेल छन्।
प्रहरीका अनुसार उनीहरूबाट नगद १५ लाख ३० हजार रुपैयाँ र विभिन्न कम्पनीका चार थान मोबाइल सेट बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
