काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ चैत्र २०८२
अ+
अ-

काठमाडौं ।म्यानचेस्टर सिटीले काराबाओ कप (ईएफएल)को उपाधि जितेको छ। आइतबार राति वेम्ब्लीमा भएको फाइनलमा आर्सनललाई २-० ले पराजित गर्दै आर्सनलको ऐतिहासिक ‘क्वाड्रुपल’ (एकै सिजनमा ४ उपाधि) जित्ने सपनाको औपचारिक अन्त्य गरिदिएको हो।

पेप ग्वार्डिओलाको टोलीका लागि निको ओ’राइलीले दोस्रो हाफमा चार मिनेटभित्र दुई गोल गर्दै टिमलाई उत्कृष्ट जित दिलाए। सुरुवातबाटै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई दबाबमा राखेको सिटीले गोलको लागि भने दोस्रो हाफ सम्म कुर्नु परेको थियो।

आर्सनल भने मुख्य गोलरक्षक डेभिड रायाको सट्टा यस प्रतियोगितामा केपा अरिजाबालागालाई निरन्तर मौका दिएको थियो। तर प्रशिक्षकको यो निर्णय टिमका लागि मुस्किलपूर्ण रह्यो।

खेलको ६० ‍औं मिनेटमा केपाले रायन चेर्कीको सामान्य क्रस समात्ने प्रयास सफल नहुँदा बल झरेको अवस्थामा ओ’राइलीले झुकेर गरेको हेडले जाली चुमेको थियो।

त्यसपछि ओ’राइलीले चार मिनेट पछिनै हेड मार्फतनै दोस्रो गोल थपे, जहाँ उनले माटेउस नुनेसको क्रसलाई शक्तिशाली हेड गर्दै टिमको जित निश्चित गरे।

जितसँगै ग्वार्डिओला ईएफएल कप पाँच पटक जित्ने पहिलो प्रशिक्षक बनेका छन्।