काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

मध्यपूर्व संकट

परराष्ट्र मन्त्रालयमा आपत्‌कालीन एक्सन रुम, सरकारी वेबसाइटमै ८४ हजार विवरण दर्ता

परराष्ट्र मन्त्रालयमा खटिएको इमर्जेन्सी रेस्पोन्स टिम। तस्बिर : बाबुराम विश्वकर्मा
अ+
अ-

वैदेशिक रोजगारीमा कुवेत पुगेका हिक्मतसिंह भण्डारी (नाम परिवर्तन) बहराइनमा अलपत्र छन्। अहिले उनी न राति निदाउन सक्छन्, न शान्त भएर धेरै बेर बस्न सक्छन्। अमेरिका र इजरायलले इरानमा संयुक्त रूपमा आक्रमण गरेपछि त्यसको असर बहराइनमा मात्र होइन, मध्यपूर्वमा रहेका भण्डारी जस्ता कैयौँँ नेपालीलाई परेको छ।

इरानमा आक्रमण भएको केही दिनमै बहराइनमा पनि बमबारी भयो। त्यसले भण्डारीमा मनोवैज्ञानिक असर देखा परेको छ। उनी छिनमै टोलाउने, आत्तिने र बेहोस हुने समस्याबाट पीडित छन्। आफूले झेलेको समस्या उल्लेख गरेर उनले उद्धारका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन्। नेपालका रहेका भण्डारीका बुबाले पनि मन्त्रालयमा निवेदन पेस गरेका छन्। तर, अझै उनको उद्धार हुन सकेको छैन।

भण्डारी मात्र होइन, अरू थुप्रै नेपालीहरूले पनि मध्यपूर्वबाट आफूलाई मनोवैज्ञानिक असर परेको गुनासो परराष्ट्र मन्त्रालयमा दर्ता गराएका छन्। कुवेतमा रहेका अर्का एक नेपालीले मध्यपूर्वको गोलाबारीले आफू डराउने, आत्तिने र सुत्न गाह्रो हुने समस्या देखिएको गुनासो दर्ता गराएका छन्।

इरानविरुद्धको हमलाले कैयौँ नेपाली मध्यपूर्वमा आतंकित मात्र होइन, असुरक्षित नै छन्। तीमध्ये कैयौँले आफ्नो उद्धारका लागि नेपाल सरकार र विदेशस्थित नेपाली नियोगसँग गुहार मागेका छन्। परराष्ट्रमन्त्री बालानन्द शर्माले केही समयअघि मध्यपूर्वमा जारी द्वन्द्वले संकटमा परेका नेपालीहरूलाई पानीजहाज भाडामा लिएर भए पनि उद्धार गर्ने योजना सार्वजनिक गरेका थिए। तर, परराष्ट्र मन्त्रालयकै अधिकारीहरू मन्त्री शर्माले सुनाएको योजना कार्यान्वयन सहज नभएको र त्यसको लागत धान्न नेपालले नसक्ने निचोडमा पुगेका छन्। त्यसैले खाडीमा अहिले संकट झेलेका नेपालीलाई तत्कालै उद्धार गर्न सम्भव देखिएको छैन।

तथापि, परराष्ट्र मन्त्रालयले इरान संकटले समस्यामा परेका नेपालीहरूको अवस्था र गुनासा सुन्न परराष्ट्र मन्त्रालयमा अलग्गै इमर्जेन्सी एक्सन रुम सञ्चालनमा ल्याएको छ। सो रुममा इमर्जेन्सी रेस्पोन्स टिम नै खटाएर मन्त्रालयले मानसिकलगायत अनेक समस्या झेलिरहेका नेपालीहरूको गुनासो चौबीसै घन्टा सुन्ने व्यवस्था गरेको छ। ९ चैतको अपराह्न १२ बजे परराष्ट्र मन्त्रालयको इमर्जेन्सी एक्सन रुम पुग्दा मन्त्रालयका शाखा अधिकृतहरू संगीता भुषाल र सरिता मानन्धर एवं नायब सुब्बा गीता बोगटी मध्यपूर्वबाट आउने नेपालीहरूका गुनासा रेकर्ड गर्न व्यस्त थिए। शाखा अधिकृत भुषाल भन्छिन्, “हामी फागुन २२ गतेदेखि नै यो कक्षमै २४ घन्टा सक्रिय छौँ। आलोपालो रुटिन मिलाएर हामी विदेशमा अप्ठ्यारो परेका नेपालीहरूले गर्ने फोन कल, मेसेज र इमेलको रेस्पोन्स गर्छौं, कतिलाई काउन्सिलिङ गर्छौं भने कतिको समस्या हल गर्न सम्बन्धित देशमा रहेका नेपाली नियोगलाई आग्रह गर्छौं।”

युद्धका कारण संकटमा परेका नेपालीहरूलाई फोनमा परामर्श गर्दा पनि धेरै सहज महसुस भएको मन्त्रालयको इमर्जेन्सी रेस्पोन्स टिमको अनुभव छ। भुषाल थप्छिन्, “युद्धले धेरै नेपालीमा मानसिक र मनोवैज्ञानिक समस्या देखिएको छ, उताबाट आत्तिएर फोन गरेकाहरूलाई हामीले सान्त्वना मात्र दिँदा पनि उनीहरू धेरै राहत महसुस गर्छन्।”

परराष्ट्र मन्त्रालय। तस्बिर : बिक्रम राई

इरानविरुद्ध अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्वमा असुरक्षित रहेका धेरै नेपालीले आफ्नो अवस्था र समस्या अचेल दैनिक रूपमा परराष्ट्र मन्त्रालयमा दर्ता गराउँछन्। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार मन्त्रालयको इमर्जेन्सी रेस्पोन्स कक्षमा मध्यपूर्वका नेपालीहरूले फोन, इमेल र मेसेज गरेर आफ्नो समस्या दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। त्यसरी आएका गुनासालाई प्राथमिकताका आधारमा मन्त्रालयले सम्बोधन गर्ने गरेको छ। २२ फागुनदेखि ९ चैतसम्म मध्यपूर्वका २०० जनाले आफूले झेलेको संकट र गुनासा दर्ता गराएका छन्। मन्त्रालयमा दर्ता गरिएका गुनासाका आधारमा सम्बन्धित देश वा नजिकका नेपाली नियोगलाई आपत्‌कालीन उद्धार वा सहायता उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ।

कतिपय सामान्य समस्या चाहिँ मन्त्रालयको टिमले परामर्शबाट पनि समाधान गरेको छ। आपत्‌कालीन रेस्पोन्स टिमलाई इरान आक्रमणपछि सबैभन्दा बढी बहराइन, क्रोएसिया, यूएई, कम्बोडिया, कुवेत, बेल्जियम र साउदी अरबबाट गुनासा आउने गरेका छन्। शाखा अधिकृत सरिता मानन्धर भन्छिन्, “यी देशबाट सबैभन्दा धेरै गुनासा आउने गरेका छन्। हामीलाई आएका गुनासामध्ये प्राथमिकताका आधारमा सम्बोधन गर्ने गरिएको छ।”

इमर्जेन्सी रेस्पोन्स टिममा आएका गुनासाहरूमध्ये कुवेत र बहराइनका नेपालीको साझा समस्या चाहिँ उस्तै छ। उनीहरूले आफू बसेको ठाउँबाट कसरी साउदी जाने र त्यहाँबाट नेपाल फर्किने भन्ने चिन्ता सुनाउने गरेका छन्। कुवेत र बहराइनबाट नेपालमा सिधा हवाई उडान नभएकाले ती देशमा कार्यरत नेपालीलाई स्वेदश फर्किन सजिलो छैन।

पीडित छोराको उद्धारका लागि बाबुले दिएको निवेदन।

त्यसो त, देशबाहिर रहेका नेपालीहरूले इरान तनावपछि परराष्ट्र मन्त्रालयले सुरु गरेको लिगल डट नेपाल कन्सुलर डट जिओभी डट एनपीमार्फत पनि आफ्ना समस्या दर्ता गराउन सक्छन्। मन्त्रालयका प्रवक्ता क्षेत्रीका अनुसार मध्यपूर्व संकटपछि विदेशमा रहेका ८४ हजारभन्दा बढी नेपालीहरूले व्यक्तिगत विवरण र समस्या मन्त्रालयको यो वेबसाइटमार्फत दर्ता गराइसकेका छन्। अमेरिका र इजरायलले इरानमा हमला गरेलगत्तै परराष्ट्र मन्त्रालयले मध्यपूर्वका नेपालीलाई त्यो वेबसाइटमा आफ्नो विवरण दर्ता गर्न आग्रह गरेको थियो। प्रवक्ता क्षेत्री थप्छन्, “विदेशमा रहेका नेपालीहरूले हामीले सुरु गरेका वेबसाइटमार्फत आफ्नो अवस्था र व्यक्तिगत विवरण दर्ता गराएका छन्। यसले सरकारलाई देशबाहिर रहेका नेपालीहरूको अवस्था थाहा पाउन सजिलो भएको छ।”

क्षेत्री अनुसार इमर्जेन्सी एक्सन रुम र मन्त्रालयको वेबसाइटमा दर्ता हुने गुनासालाई वर्गीकरण गरेर प्राथमिकताका आधारमा मन्त्रालयले आपत्‌कालीन उद्धार र रेस्पोन्स अघि बढाएको छ। उनी थप्छन्, “पहिला सही सूचना संकलन गर्ने र त्यही आधारमा आप‌त्‌कालीन उद्धार र सहायता अघि बढाउने गरिएको छ।”