काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरिएको छ। मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री ओमप्रकाश अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रसंशा-पत्रले सम्मान गरे।
प्रशंसापत्रले सम्मानित हुनेमा गृह-सचिव राजकुमार श्रेष्ठ, रक्षा-सचिव केदारनाथ शर्मा, बलाध्यक्ष रथी प्रदीपजंग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारी, गृहका उच्च अधिकारी छन्। साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायत निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मीलाई बधाईसहित सम्मान व्यक्त गरेको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ।
त्यस अवसरमा अर्यालले गत २१ फागुनमा भएको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न कर्मचारी, सुरक्षा निकाय एवं सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिको प्रसंशा गरेका थिए। “निर्वाचन ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानक स्थापित गरेका छौँ। सामूहिक नेतृत्व प्रणाली र सबै सरोकारवालाको बलियो समन्वयका कारण सकारात्मक परिणाम हासिल भएको छ। आगामी दिनमा पनि यसलाई कायम राख्न जरुरी छ‚” अर्यालले भने।
गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको सुझबुझपूर्ण र समन्वयकारी नेतृत्वका कारण निर्वाचन सुरक्षा र शान्ति सुव्यवस्था कामय गर्नमा सकारात्मक परिणाम हासिल भएको उल्लेख गरे।