काठमाडौँ। विश्वभर छरिएर रहेका नेपालीमूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरु गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार पहिला एनआरएनए र भिसा फ्री भएका मुलुक र व्यक्तिका लागि छुट्टै डेस्कको व्यवस्था गरिएको थियो। अब नेपालीमूलका विदेशीलाई पनि अध्यागमनमा छुट्टै डेस्कको व्यवस्था गरिएको छ। नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध अझ सुदृढ बनाउने साथै पर्यटन र लगानी प्रवर्धन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
अध्यागमन विभागको यही ८ चैतको निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको आगमन र प्रस्थानतर्फ नेपालीमूलका विदेशीका लागि छुट्टै लाइन र अध्यागमन डेस्कको व्यवस्था गरिएको अध्यागमन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।