काठमाडौँ । अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो।
विश्वभर खपत हुने तेलको करिब पाँचौँ हिस्सा र ठूलो मात्रामा ग्यास ओसारपसार हुने यो जलमार्ग एकातिर ओमान र यूएई तथा अर्कातिर इरानको बीचमा पर्छ।
यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै, स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (EIA) का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै अधिकांश कच्चा तेल एसियातर्फ जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।
युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही जलमार्गबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको पनि करिब पाँचौँ हिस्सा यही भएर जान्छ।
अमेरिका–इजरायल र इरानबीचको तनाव वा सम्भावित युद्धका कारण विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्गमध्ये एक स्ट्रेट अफ होर्मुज प्रभावित हुन सक्ने देखिएको छ, जसका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्छ र त्यसलाई सरकारले अनुमोदन गर्नुपर्छ।