खिचिक्क
काठमाडौँ। रसुवाको आमाछोदिङ्मो गाउँपालिका ३‚ गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई केन्द्रमा राखेर काठमाडौँमा तस्बिर प्रदर्शनी सुरु भएको छ।
एक्सप्लोर नेपाल नेटवर्कको आयोजनामा सुरु गरिएको ‘गतलाङका महिलाको संघर्ष’ शीर्षक प्रदर्शनीमा फोटो पत्रकार केशवराज थोकरले खिचेका १६ तस्बिर प्रस्तुत छन्।
प्रदर्शनीको मुख्य उद्देश्य ग्रामीण महिलाको श्रम, संघर्ष र योगदानलाई उजागर गर्दै उनीहरूप्रति सम्मान प्रकट गर्नु रहेको आयोजकले जनाएको छ। आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले उद्घाटन गरेको प्रदर्शनी दुई दिन चल्नेछ।
गतलाङ गाउँमा करिब ६ सय घरधुरी छ। तामाङ र दलित समुदायको बसोबास क्षेत्र, कृषि, पशुपालन र पर्यटनमा आधारित जीवनशैलीका लागि यो परिचित छ। विशेषतः महिलाहरूले घरायसी कामदेखि पशुपालन, खेतीपाती र ऊनबाट राडीपाखी उत्पादनसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय थोकरले नेपाल समाचारपत्र‚ नागरिक दैनिकलगायत सञ्चारमाध्यममा काम गरेका छन्। अहिले भने उनी स्वतन्त्र रूपमा कार्यरत छन्। उनको ‘लाइफ इन प्यान्डेमिक’ नामक फोटो पुस्तक प्रकाशित छ। यसमा कोभिड १९ महामारीका प्रभाव चित्रण गरिएका छन्।
हेरौँ थप तस्बिर :

