काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुली सुनकोसी गाउँपालिका ७ का ४४ वर्षीय शिवराज कार्की छन्।

काठमाडौँ गोकर्णेश्वर नगरपालिका ४‚ माकलबारी बस्दै आएका कार्कीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। कार्कीलाई काठमाडौँ महानगरपालिका १५‚ स्वयम्भूबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टले बताए।

कार्कीले काठमाडौँ चाबहिलमा पी एन्ड एम इनोभेटिभ सर्भिस नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए। १० वर्षदेखि सञ्चालन गरिएको उक्त कन्सल्टेन्सीमा आएका २५० जना युवायुवती ठगिएको प्रहरी उपरीक्षक भट्टले बताए। अहिले कार्यालयमा एक सय जनाभन्दा बढीले उजुरी दिएका छन्।

“हालसम्म दुई करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी अनुसन्धानमा खुलेको छ,” भट्टले भने। कार्कीलाई यसअघिसमेत ठगी गरेको आरोप लागेको छ। प्रहरीका अनुसार वैदेशिक रोजगार मुद्दामा उनीविरूद्ध ६ वटा पक्राउ पुर्जी छन्। उनीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट बैंकिङ कसुरमा समेत मुद्दा दर्ता भएको देखिएको छ।

कार्की विगत तीन महिनादेखि भारतको नयाँदिल्लीस्थित पहाडगन्जमा अन्नपूर्ण फास्ट फुड खोलेर बस्दै आएको अनुसन्धानमा खुलेको छ। कार्कीले भारत सरकारद्वारा जारी आधार कार्ड र प्यान कार्ड बनाएको पाइएको छ।

“नेपाल आएको बखत सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो,” कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले भने, “रकम संकलन गरेर भागेपछि पीडित प्रहरीमा आइरहेका थिए, अन्य पीडितहरू उजुरी दिन आउने भनेर खबर गरिरहेका छन्।”

कार्की नेपाली चलचित्र उद्योगसँग समेत आबद्ध छन्। उनले चलचित्र ‘तेल भिसा’ निर्माण गरेका थिए। कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।