काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० चैत्र २०८२
अ+
अ-

काठमाडौँ। पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौँलगायत केही जिल्लामा वर्षा भएको छ।

काठमाडौँमा पछिल्लो एक घण्टामै १.२ मिलिमिटर वर्षा भएको छ। अन्य केही जिल्लामा पनि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा असिनापानी, हिमपात र हुरीबताससमेत आएको छ।

विभिन्न जिल्लाको वर्षामापन केन्द्रबाट प्राप्त विवरणअनुसार पछिल्लो एक घण्टामा सबैभन्दा बढी झापामा ९.४ मिलिमिटर वर्षा भएको छ। यस्तै ताप्लेजुङ, भोजपुर, नुवाकोट, लमजुङ, गोरखा, कास्की र कालीकोटमा हल्का वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा तनहुँमा २४.६ र झापामा १२.२ मिलिमिटर वर्षा भएको छ।

मौसम विज्ञान विभागका सूचना अधिकारी दीनकर कायस्थका अनुसार कोसी प्रदेशलगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणत: बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ।

कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात भइरहेको विभागले मंगलबार साँझ ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

विभागका अनुसार बुधबार कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणत: बादल लाग्ने तथा बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। यस्तै तराई भू-भागमा मौसम मुख्यत: सफा रहनेछ।

कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थान तथा बाँकी प्रदेशको पहाडी र हिमाली भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।