काठमाडौं । पूर्वशिक्षामन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रण गर्न नसके राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि भविष्यमा हराएर जाने चेतावनी दिएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भ्रष्टाचारीहरूलाई कारबाही गर्दा नियम बाधक बने तत्काल नयाँ नियम बनाउनुपर्ने पनि बताएका छन् । ‘उनले भने अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरुलाई नियम पुर्याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्छ ।
उनले लेखेका छन् , “अब आउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत हुनुपर्छ। नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनुपर्छ।”
पुनले सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भए जनतालाई ठूलो धोका हुने चेतावनी दिएका छन्। साथै, यस्तो अवस्था रहेमा रास्वपा पनि भविष्यमा कमजोर हुँदै हराउन सक्ने उनको टिप्पणी छ।
उनले तीन महिनाभित्रै जनताले सुशासनको अनुभूति गर्न पाउनुपर्ने उल्लेख गर्दै भ्रष्टाचार र कुशासन हटाउन आफूले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।