काठमाडौँ। संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथको तयारी पूरा भएको छ।
संसद् सचिवालयले शपथ र सभाका प्रारम्भिक बैठकका लागि बहुउद्देश्यीय हलमा आवश्यक सम्पूर्ण तयारी गरिएको जनाएको हो। सिंहदरबारमा निर्माण भइरहेको संसद् भवनको अहिलेसम्मको तयारीबारे संघीय संसद्का प्रवक्ता एकराम गिरीले मंगलबार यसबारे पत्रकारहरूलाई जानकारी दिए।
उनका अनुसार प्रतिनिधिसभाको मुख्य हल निर्माण नभएका कारण बहुउद्देश्यीय हलमै प्रारम्भिक चरणका बैठक बस्नेछन्। त्यसका लागि सिट, रोस्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँलगायतको व्यवस्थापन भइरहेको गिरीको भनाइ छ।
उनले बहुउद्देश्यीय हलबाट बैठक सञ्चालन गर्नुपर्दा जटिल देखिएकाले चाँडो निर्माण सक्न सम्बन्धित निकायलाई अनुरोध गरिरहेको बताए। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ १२ चैतमा बहुउद्देश्यीय हलमै हुनेछ।