काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० चैत्र २०८२
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतले रवि लामिछाने सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग संशोधनसम्बन्धी महान्यायाधिवक्ताको निर्णयको विषयमा सुनुवाइ नसकिएपछि मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ।

न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले हेर्दाहेर्दैमा सोमबारदेखि राखेको हो। अब मुद्दामा भोलि (बिहीबार) सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। ५ चैतमा न्यायाधीशहरू सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ता कार्यालयबाट टिप्पणी आदेश माग गर्ने आदेश गरेको थियो।

महान्यायाधिवक्ता सविता भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा रवि लामिछानेका विभिन्न जिल्ला अदालतमा रहेका मुद्दामा सम्पत्ति संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग संशोधनका लागि निर्णय गरेकी थिइन्।

महान्यायाधिवक्ताको निर्णय असंवैधानिक भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभाष रेग्मी र युवराज पौडेलले ४ माघमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए।

महान्यायाधिवक्ता कार्यालयभित्र अन्य सरकारी वकिलले अभियोग संशोधन गर्न नसकिने सुझाव दिँदादिँदै महान्यायाधिवक्ता भण्डारीले एकल निर्णयमा सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेको अभियोग संशोधनका लागि पत्राचार गरेकी थिइन्।