काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० चैत्र २०८२
भक्तपुर १‚ सल्लाघारीमा भक्तपुर अस्पतालले सञ्चालन गरेको विपद् जोखिम न्यूनीकरण अभ्यासमा दुर्घटनाको बिरामीलाई उद्धार गरी अस्पताल लैजाँदै। तस्बिर : रमेश गिरी
अ+
अ-

भक्तपुर। भक्तपुर नगरपालिका १‚ सल्लाघारी चोकको मुख्य सडकमा आज एक्कासि दुई सार्वजनिक बस आपसमा ठोक्किए। दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भयो। १९ जना घाइते भए।

नेपाल रेडक्रस सोसाइटीको टोलीले सडकमै घाइतेको प्राथमिक उपचार गर्न थाले। विपद् उद्धारमा सक्रिय संस्था आरएनए १६, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले घाइतेको तत्काल उद्धार गर्‍यो। जिल्लाका चारवटा एम्बुलेन्समा घाइतेलाई भक्तपुर जिल्ला अस्पताल पुर्याइयो। अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र नर्सले तत्कालै उपचारमा सक्रियता देखाए।

यो दृश्य आज (मंगलबार) आयोजना गरिएको आकस्मिक दुर्घटनाको कृत्रिम अभ्यासको हो। यहाँ भक्तपुर अस्पतालले जिल्ला प्रशासन कार्यालय, रणशेर गण सूर्यविनायक, जिल्ला प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोटको सहकार्यमा दुर्घटनाका बेला विपद्‌मा उद्धार र उपचारमा गरिने तयारीबारे कृत्रिम अभ्यास गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घट्नास्थलमा गरिने उद्धार, प्राथमिक उपचार, अस्पतालमा आएका घाइतेको उपचार, भिड नियन्त्रणदेखि उपचारसम्म गरिने तयारीबारे सडक विपद् आपतकालीन अभ्यास गरिएको बताए। यसले आगामी दिनमा आउनसक्ने विपद्‌मा सहज सेवा दिन योगदान पुग्ने उनको भनाइ छ।

कार्यक्रममा अस्पतालका निर्देशक डा. सुरेन्द्र भट्टले अस्पताल जुनसुकै विपद्‌मा पनि उपचारका लागि तयारी अवस्थामा रहेको सन्देश दिन अभ्यास गरिएको र यसले सडकमा आपतकालीन अवस्थामा आउनेसक्ने जोखिममा थप सहज रूपमा काम गर्न प्रेरणा मिल्ने बताए।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. कृपा महर्जनले आज सडकदेखि अस्पतालसम्म गरिएको अभ्यास निकै उपलब्धिमूलक रहेको र आगामी दिनमा आउनसक्ने विपद्का चुनौतीलाई सामना गर्न सक्षम भएको प्रमाणित गरेको बताइन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा कार्यरत प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले आजको अभ्यासले सुरक्षाकर्मी, उद्धारकर्मीदेखि अस्पतालका कर्मचारीलाई समेत विपद्‌मा कसरी उद्धार र उपचार गर्ने भन्नेबारेमा प्रयोगात्मक सीप सिकाइएको बताए।