काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

११ चैत्र २०८२
अ+
अ-

वीरेन्द्रनगर। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘कर्णाली समृद्धि महोत्सव २०८२’ बुधबारदेखि सुरु भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा ११ चैतदेखि २२ चैतसम्म महोत्सव सञ्चालन हुने भएको हो।

वीरेन्द्रनगर नगरपालिका- १ स्थित रेडियो नेपाल परिसरमा सुरु भएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

कर्णालीको कला र संस्कृतिको प्रवर्द्धन गर्दै स्थानीय व्यवसाय चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो। प्रतिष्ठानका अध्यक्ष कवि गिरीले महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने बताए।

उनका अनुसार महोत्सवमा राखिएका व्यापारिक स्टलमा स्थानीय उत्पादन, हस्तकला तथा उद्यमशील सामग्रीहरूको प्रदर्शन तथा बिक्री गरिनेछ। मेला अवधिभर गोठीगाडाबाट प्याराग्लाइडिङको व्यवस्था गरिएको मूल आयोजक समिती संयोजक हरि बिष्टले जानकारी दिए।

उनका अनुसार यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने विश्वास गरिएको छ। महोत्सवले कर्णालीको पर्यटन, कला, संस्कृति र स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।