काठमाडौँ। नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया भएको छ।
साम्बाले बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीबाट आफ्नो शल्यक्रिया सफलतापूर्वक सकिएको बताएकी छन्। अब डाक्टरको निगरानीमा पुनर्स्थापना (रिह्याब) प्रक्रिया सुरु हुने बताएकी छन्।
न्युजिल्याण्डको विलिंटन फिनिक्सबाट खेल्दै आएकी साम्बा तीन महिनाअघि ब्रिसबेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन्। खेलको दोस्रो हाफको अन्त्यतिर बलका लागि प्रतिस्पर्धा गर्ने क्रममा विपक्षी टोलीकी गोलकिपर क्लोई लिंकनसँग ठोक्किँदा उनको दायाँ घुँडामा चोट लागेको थियो।
एमआरआई परीक्षणमा उनको दायाँ घुँडाको एसिएल ग्राफ्ट च्यातिएको पुष्टि भएको थियो, जसका कारण उनले ९ देखि १२ महिनासम्म मैदान बाहिर रहनुपर्ने अनुमान गरिएको छ ।
चोटपछि उपचारका लागि ठूलो रकम आवश्यक परेपछि साम्बाले सहयोगको अपिल गरेकी थिइन्। अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अपेक्षित सहयोग नपाएपछि उनले सामाजिक सञ्जालमार्फत समर्थकसँग सहयोगका लागि अपिल गरेकी थिइन्।