काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ चैत्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको छ।

संघीय संसद् सचिवालयका अनुसार, ६३ सांसदले इमेल वा व्यक्तिगत रूपमा उपस्थित भई आफ्नो मातृभाषामा शपथ लिन इच्छुक भएको जानकारी दिएका हुन्।

नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे लिन लागेका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ ग्रहण गराउने कार्यक्रम सञ्चालन गर्दैछन्।

सांसदहरूलाई संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, र हालसालै खिचिएको पासपोर्ट साइज फोटो दुई प्रतिलिपि सहित तोकिएको समयभन्दा दुई घण्टा अघि उपस्थित हुन अनुरोध गरेको छ।

इतिहासमा हेर्दा, २०६३ सालको अन्तरिम संसद् कालमा ५८ सांसदले मातृभाषामा शपथ लिएका थिए। गणतन्त्र घोषणा भएयता यो संख्या अझ बढेको देखिन्छ। २०६४ को संविधानसभामा २६४ सांसदले आ-आफ्ना मातृभाषामा शपथ लिएका थिए।

उनीहरूले मैथिली, भोजपुरी, मगर, गुरुङ, पश्चिमी थारू, हिन्दी, नेवारी, लिम्बु, तामाङ, राई, पूर्वी थारू, उर्दू, राजवंशी, थकाली, शेर्पा, राना थारू, धिमाल, कुमाल, दार्चुला पश्चिमी भाषा, अवधी, माडवारी, जिरेल, चेपाङ, बाँतर, माझी, सुनुवार, बराम लगायतका भाषामा शपथ लिएका थिए।

२०७० मा ३५, २०७४ मा ४६ र २०७९ सालमा २८ सांसदले नेपाली बाहेकका मातृभाषामा शपथ लिएका थिए।