दैलेख। दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक जान नमान्ने र गए पनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको हो। तर दैलेख अस्पतालका एक चिकित्सकले भने विशेष सक्रियता देखाउँदा धारिलो हतियार प्रहारबाट सख्त घाइते भएका आठबीस नगरपालिका ७‚ गैराखेतका एक युवकको ज्यान जोगिएको छ।
अस्पतालका इन्चार्ज डा. मनोज विश्वकर्माको टोलीले सदरमुकामदेखि ११० किलोमिटर टाढाको गैराखेत पुगेर गुडिरहेको एम्बुलेन्सभित्रै आपतकालीन उपचार गरेको हो। २७ वर्षीय जीवन चन्दलाई बुधबार राति ३१ वर्षीय जिराबहादुर चन्दले धारिलो हतियार प्रहार गरी नाडी नै छिनाल्ने प्रयास गरेका थिए।
मदिरा सेवन गरी भएको सामान्य विवाद र पुरानो रिसइबीका कारण घटना भएको प्रारम्भिक अनुमान छ। घटनास्थल सदरमुकामदेखि टाढा र सञ्चार सम्पर्कविहीन क्षेत्रमा रहेकाले घाइतेलाई समयमै अस्पताल पुर्याउन चुनौतीपूर्ण थियो। घाइतेको अवस्था नाजुक रहेको र अत्यधिक रक्तस्राव भइरहेको जानकारी पाउनासाथ विश्वकर्माको टोली बिरामी कुरेर बस्नुको साटो आफैँ औषधि र उपकरणसहित घटनास्थलतर्फ लागेका थिए।
विश्वकर्माको टोलीले सात्तलाको पुलबजारमा एम्बुलेन्स भेटेपछि सो एम्बुलेन्समा चढी गुडिरहेकै अवस्थामा प्राथमिक शल्यक्रियात्मक उपचार गरी रक्तस्राव रोक्न सफल भएको थियो। “घाइते बोल्न सक्ने अवस्थामा थिएनन्। गहिरो चोटले गर्दा रगत धेरै बगिसकेको थियो। यदि हामी बाटोमै नपुगेको भए रक्तअल्पताका कारण बाटोमै बिरामीको ज्यान जान सक्ने जोखिम थियो,” उनले भने।
चिकित्सकको यो कदमले घाइतेको अवस्था स्थिर भएपछि उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो। कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा. ईश्वर बलामीका अनुसार बाटोमा डा. विश्वकर्माको टोलीले गरेको उपचारका कारण बिरामीको ज्यान बचाउन ठुलो मद्दत पुगेको छ।
यद्यपि चोट गहिरो भएकाले थप विशेषज्ञ उपचारका लागि घाइतेलाई काठमाडौँ ‘रिफर’ गरिएको उनले बताए। घटनाका अभियुक्त जिराबहादुर चन्दको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्पराज रोकायका अनुसार फरार अभियुक्तको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। सरकारी अस्पतालका चिकित्सकले देखाएको यो व्यावसायिक धर्म र मानवीय संवेदनाको स्थानीयस्तरमा उच्च प्रशंसा भएको छ। -रासस