काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै हालै सम्पन्न निर्वाचनले परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको बताएकी छन्।
बिहीबार साँझ बालुवाटारस्थित सरकारी निवासबाट सम्बोधन गर्दै उनले वर्तमान निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने स्थापित भाष्यलाई जनताले गलत सावित गरिदिएको उल्लेख गरिन्। उनका अनुसार निर्वाचन परिणामले राजनीतिक स्थायित्वका लागि नयाँ सम्भावना सिर्जना गरेको छ।
प्रधानमन्त्री कार्कीले युवाको नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारप्रति विश्वास व्यक्त गर्दै जेन जेड आन्दोलनका माग र आकांक्षाअनुसार काम हुने बताइन्। उनले सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचारको अन्त्य, आर्थिक विकास तथा सामाजिक न्यायका क्षेत्रमा परिणाममुखी पहल हुनेमा जोड दिइन्।
सम्बोधनका क्रममा उनले लोकतान्त्रिक प्रक्रियाबाट आएको जनादेशलाई सम्मान गर्दै सबै राजनीतिक शक्ति र नागरिकलाई सहकार्यका लागि आह्वान समेत गरिन्।