तेहरान । इरानले विश्वभर ऊर्जा ढुवानीका लागि महत्त्वपूर्ण मार्ग स्ट्रेट अफ होर्मुज आफ्ना मित्र राष्ट्रहरूका लागि खुला रहेको पुष्टि गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन, रुस, भारत, इराक र पाकिस्तानलाई स्ट्रेट प्रयोग गर्ने सुविधा उपलब्ध गराइएको जानकारी दिएका छन्।
बीबीसीका अनुसार, अराघचीले भनेका छन्, “हामी मित्र राष्ट्रहरूलाई स्ट्रेट अफ होर्मुजको बाटो उपलब्ध गराइरहेका छौँ।” यो घोषणाले अमेरिकी दबाबका बावजुद इरानले आफ्ना मित्र राष्ट्रसँग व्यापारिक र ऊर्जा ढुवानीको निरन्तरता सुनिश्चित गर्न खोजेको संकेत दिएको छ।
यो घोषणा यस्तो समयमा आएको छ जब इजरायल र अमेरिकाले गत फेब्रुअरी २८ मा संयुक्त हवाई आक्रमण गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी लगायत उच्च अधिकारीहरूलाई लक्षित गरेका थिए। त्यसपछिका आक्रमण र तनावका कारण स्ट्रेट अफ होर्मुजमा केही जहाजहरूमा हमला भएको रिपोर्टहरू आएका छन्।
स्ट्रेट अफ होर्मुज अरब खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्ने समुद्री मार्ग हो। यहाँबाट विश्वभर खपत हुने तेलको करिब एक-पाँचौँ हिस्सा र ठूलो मात्रामा ग्यास ओसारिन्छ। इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईका तेल यस मार्गबाट एसियाली बजारमा पुग्छन्, जहाँ चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत तेल ओगट्छन्।
बीबीसी