लुम्बिनी। लुम्बिनीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका रुपमा उत्कृष्ट घोषित भएको छ।
उक्त अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस)मा उत्कृष्ट नतिजा प्राप्त गरेको हो। विगत दुइ वर्षदेखि यस अस्पतालले उत्कृष्टता हासिल गर्दै आएको छ। यसवर्ष पनि ‘सेकेण्डरी बी’ लेभल मूल्याङ्कनमा सुधार गर्दै ९० अंकसहित तेस्रोपटक नेपालमै प्रथम भएको हो।
अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्तिलगायतका बारेमा प्रस्तुती गरिएको थियो।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालमा सेवा लिन जाँदा नाक खुम्च्याउनपर्ने अवस्थाको अन्त्य हुँदै गएको बताए।उनले मूल्यांकन अंक मात्र नभइ जनताले पनि महसूस गर्ने गरी काम गर्न निर्देशन दिए।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा रोशनलाल चौधरीले सेवालाई थप विशिष्टीकृत गर्दै लैजान आग्रह गरेका छन्। अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा इन्द्र ढकालले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मुल्याङ्कनमा प्राप्त नतिजा पर्याप्त नभएकाले थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गरे।
अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीमार्फत सेवा प्रदान हुँदै आएको छ।