काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

राजनीति

५४ सांसदले मातृभाषामा शपथ लिने

१२ चैत्र २०८२
नवनिर्वाचित सांसदहरूको शपथग्रहणका लागि सिंहदरबारभित्र तयार भएको अस्थायी हल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

२६ वर्षपछि एक दलको पूर्ण बहुमतसहितको प्रतिनिधिसभाको कार्यकाल आज (बिहीबार) प्रारम्भ हुँदै छ। जेन-जी आन्दोलनको मागअनुसार विघटित प्रतिनिधिसभाको २१ फागुनमा भएको निर्वाचनबाट विजयी सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२ सिटको प्रचण्ड बहुमत प्राप्त गरेको छ। २०५६ सालको प्रतिनिधिसभापछि कुनै पनि राजनीतिक दलले निर्वाचनमा एकल बहुमत प्राप्त गरेको यो पहिलो पटक हो। २०५६ सालमा २०५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसले १११ स्थान जित्दै बहुमत ल्याएको थियो।

मिश्रित निर्वाचन प्रणालीअनुसार हुने प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दललाई सामान्य बहुमत ल्याउन पनि कठिन हुने ठानिए पनि रास्वपाले स्पष्ट बहुमत पनि पार गर्दै करिब दुई तिहाइ मत ल्याएर त्यसलाई गलत साबित गरिदियो।

अघिल्लो प्रतिनिधिसभामा पहिलो दल बनेको नेपाली कांग्रेस नयाँ संसद्‌मा ३७ स्थानमा खुम्चिएको छ भने नेकपा (एमाले)को २५ सिट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को १७, श्रम संस्कृति पार्टीको सात र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पाँच सिट छ। यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुन पनि संसद्‌मा हुनेछन्।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई ज्येष्ठ सदस्यको शपथग्रहण गराएका थिए। प्रतिनिधिसभामा सभामुख निर्वाचित नहुन्जेल ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्ने संवैधानिक व्यवस्था छ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई ज्येष्ठ सदस्यको शपथग्रहण गराएका थिए। प्रतिनिधिसभामा सभामुख निर्वाचित नहुन्जेल ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्ने संवैधानिक व्यवस्था छ। नवनिर्वाचित सांसदहरूलाई केसीले नै आज शपथ खुवाउनेछन्।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहणको तयारी पूरा भएको बताए। शपथका लागि सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको एउटा हलमा तयारी गरिएको छ। “यसपटक सांसदहरूको शपथग्रहण संसद्को नयाँ भवनमा हुँदै छ। भवन पूर्ण रूपमा नबनिसकेका कारण साँघुरो स्थान जोहो गरेका छौँ,” गिरीले भने।

गत भदौमा जेन-जी आन्दोलनमा आगजनी गरिँदा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन ध्वस्त भएपछि सिंहदरबारभित्र संसद्को निर्माणाधीन भवनमा शपथग्रहण गराउन लागिएको हो। संसद् सचिवालयले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर २०६४ सालको संविधानसभादेखि संसद् भवनका रूपमा सञ्चालन गर्दै आएको थियो।

प्रवक्ता गिरीका अनुसार नवनिर्वाचित सांसदहरूमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने जानकारी दिएका छन्।

यसपटकको प्रतिनिधिसभामा अधिकांश पहिलो पटक निर्वाचित सांसद छन्। नयाँ संसद्‌मा ३० वर्षमुनिका सांसद १७ जना छन्। यस्तै, ३० देखि ४० वर्षभित्रका ७६ जना, ४० देखि ५० वर्षभित्रका ८८ जना र ५० देखि ६० वर्षमुनिका ६२ जना र ६० वर्षदेखि माथिका ३२ जना छन्। सबैभन्दा कान्छा सांसद मकवानपुर २ बाट निर्वाचित रास्वपाका प्रशान्त उप्रेती र श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद रुवी कुमारी हुन्। यी दुवैको उमेर २५ वर्ष छ। यस्तै, सबैभन्दा ज्येष्ठ सदस्य कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसी हुन्। उनी ७८ वर्षका छन्।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम छ। २०७२ सालमा नयाँ संविधान जारी भएपछि पहिलो पटक धारा ७६ (१) अनुसार प्रधानमन्त्रीको नियुक्ति हुन लागेको हो।

यसपटकको निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको संख्या घटेको छ। संसद्‌मा ६ वटा राजनीतिक दलको मात्रै प्रतिनिधित्व छ। प्रत्यक्षतर्फ एक स्थान र समानुपातिकमा तीन प्रतिशत थ्रेसहोल्डको मापदण्डअनुसार यी सबै दल राष्ट्रिय पार्टी बनेका छन्।

यसअघिको प्रतिनिधिसभामा १० वटा दलको प्रतिनिधित्व थियो, जसमध्ये आठ दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका थिए।

सांसदहरूको शपथपछि शुक्रबार (१३ चैत) मुलुकले नयाँ सरकार पाउनेछ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम छ। २०७२ सालमा नयाँ संविधान जारी भएपछि पहिलो पटक धारा ७६ (१) अनुसार प्रधानमन्त्रीको नियुक्ति हुन लागेको हो। प्रतिनिधिसभामा बहुमत प्राप्त राजनीतिक दलको संसदीय दलका नेताका रूपमा शाहले प्रधानमन्त्रीको शपथ लिन लागेका हुन्। उनी रास्वपाका संसदीय दलको नेता चुनिन भने बाँकी छ। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि उनलाई दलको नेता बनाउने तयारी रास्वपाले गरेको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले शुक्रबार प्रधानमन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयले तयारी गरिरहेको जानकारी दिए। “शपथका लागि टेन्ट टाँग्ने, निम्तालुहरूलाई पत्राचार गर्ने काम भइसकेको छ। शपथका लागि औपचारिक पत्र भने राष्ट्रपति कार्यालयमा आइसकेको छैन,” उनले भने।