काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। रुपन्देही १ बाट चुनाव जितेका सुनिल लम्सालले नयाँ सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी पाएका छन्। उनी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका विश्वासपात्र मानिन्छन्।

असोज २०४७ मा स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मेका लम्साल दुई दशकदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिका भलबारीका स्थायी बासिन्दा हुन्। रुपन्देहीबाटै विद्यालय शिक्षा पूरा गरेका लम्साल पेसागत रूपमा इन्जिनियर हुन्। कलेजकालमा उनी एमालेनिकट अनेरास्ववियुमा क्रियाशील थिए। उनी एक पटक स्ववियु सभापति पनि निर्वाचित भएका थिए।

नवनियुक्त मन्त्री लम्सालसँग स्ट्रक्चरल इन्जिनियरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पूर्वाधार परियोजनामा काम गरेको अनुभव छ।

२०७९ सालको स्थानीय तहको निर्वाचनपछि उनी काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहका पूर्वाधार सल्लाहकार थिए। फोहोर व्यवस्थापनमा वैज्ञानिक, वातावरणीय र मानवअधिकारसँग सन्तुलन मिलाएर दीर्घकालीन समाधान खोज्नुपर्ने भन्दै उनी अहिले फोहोर व्यवस्थापनमै विद्यावारिधि गर्दै छन्। २१ फागुनको निर्वाचनअघि बालेन्द्र शाहसँगै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका लम्सालले निर्वाचित भएलगत्तै मन्त्रिपरिषद्‌मा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन्।