काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

टिप्पणी

धर्मनिरपेक्ष देशमा बालेन्द्र शाहको स्वस्ति–शपथ अनुचित मात्र होइन, आपत्तिजनक पनि छ।

१३ चैत्र २०८२
अ+
अ-

११ फागुन २०३१ मा राजा वीरेन्द्रको राज्याभिषेक वैदिक हिन्दु विधिअनुसार भएको थियो। त्यतिबेला टेलिभिजन नभएकाले देशवासीलाई राज्याभिषेक देखाउन शाही नेपाल चलचित्र संस्थानले वृत्तचित्र बनाएको थियो, जुन देशभरका सिनेमा हलहरूमा चलचित्र सुरु हुनुभन्दा पहिले देखाइन्थ्यो। कहिलेकाहीँ चलचित्र संस्थानले जिपमा प्रोजेक्टरमार्फत मोटर पुगेका गाउँहरूमा पनि त्यो वृत्तचित्र प्रदर्शन गर्दथ्यो।

वृत्तचित्र यस पंक्तिकारले हेरेको थियो, जहाँ राज्याभिषेकका क्रममा राजालाई चार दिशाबाट ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रले विभिन्न तीर्थस्थलबाट ल्याइएको जलले अभिषेक गरेका थिए। त्यहाँ शूद्रको प्रतिनिधित्व पद्मसुन्दर लावतीले गरेका थिए। किरात धर्म मान्ने लावतीले शूद्रको प्रतिनिधित्व गर्नुको कारण हिन्दु वर्णाश्रममा सबै मतवालीलाई शूद्रभित्रै राखिनु तर उनीहरूको पानी चल्नु थियो। राज्याभिषेक समारोहमा शिक्षा सहायक मन्त्री हिरालाल विश्वकर्मा पनि देखिन्थे, तर अभिषेकमार्फत जल छर्किनुपर्ने भएको हुँदा पानी नचल्ने भएकाले हिरालाललाई शूद्रका रूपमा प्रतिनिधित्व नगराइएको बुझ्न गाह्रो थिएन।

अहिले हामी माओवादीको दशक लामो युद्ध तथा १९ दिने जनआन्दोलनमार्फत राजतन्त्रलाई फालेर गणतन्त्रको अभ्यास गर्दै छौँ। तर, आज हुने बालेन्द्र शाहको प्रधानमन्त्रीको शपथग्रहण राज्याभिषेककै झल्को दिने गरी हुँदै छ भन्ने जानकारी सञ्चारमाध्यमहरूमा छाएको छ। समाचारअनुसार १२ः३४ को उत्तम साइतमा सात जना ब्राह्मणले शंखनाद गर्ने र १०८ जना वटुक ब्राह्मणले स्वस्तिवाचन गर्ने कार्यक्रम छ। १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गराइनेछ।

साहबाट शाह बनेका बालेन्द्रको पहिलेको साह जातको चर्चा गर्नु यहाँ सान्दर्भिक हुनेछ। उनी मधेसका तेली साह हुन्। जंगबहादुर राणाकालीन १९१० सालको मुलुकी ऐनमा काठमाडौँ उपत्यकाका कसाई, कुस्ले, धोबी र कुलूको पानी नचल्ने, तर छोइछिटो हाल्नुनपर्ने उल्लेख थियो। मधेस र विधर्मीहरूको सन्दर्भमा तेली साह, म्लेच्छ (तत्कालीन समयका इसाई) र गाईको मासु खाने मुसलमानलाई पनि अछुत, तर छोइछिटो हाल्नुनपर्ने समूहमा राखिएको थियो।

आज हुने बालेन्द्र शाहको प्रधानमन्त्रीको शपथग्रहण राज्याभिषेककै झल्को दिने गरी हुँदै छ भन्ने जानकारी सञ्चारमाध्यमहरूमा छाएको छ। समाचारअनुसार १२ः३४ को उत्तम साइतमा सात जना ब्राह्मणले शंखनाद गर्ने र १०८ जना वटुक ब्राह्मणले स्वस्तिवाचन गर्ने कार्यक्रम छ। १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गराइनेछ।

राणाकालमा इस्ट इन्डिया कम्पनीका बेलायती शासकहरूले काठमाडौँको लैनचौरमा दूतावास खोलेका थिए। त्यहाँ अन्य जातका मान्छे नपाइँदा खासगरी खड्गी थरका व्यक्तिहरूलाई घरायसी कामदारका रूपमा राख्थे। मुलुकी ऐनले मुस्लिमलाई पनि अछुत बनाएकाले अझै पनि ठूला जातका हिन्दुहरूले अछुतको व्यवहार गर्ने गरेको राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीले एउटा टेलिभिजन अन्तर्वार्तामा बताएकी थिइन्।

तेल बेच्ने मुख्य पेसा भएका तेली साहहरूले अन्य सामानको पनि व्यापारको छुट पाएकाले उनीहरू आर्थिक रूपमा केही सम्पन्न बन्न पुगे। आर्थिक र सामाजिक हैसियत बढेकाले अहिले भने उनीहरूलाई छुवाछुतको व्यवहार गरिँदैन।

तत्कालिन राजा वीरेन्द्रको राज्याभिषेक। तस्बिर स्रोत : अलचेट्रोन

अब संविधान हेरौँ। संविधानको धारा ४ को स्पष्टीकरण खण्डमा ‘धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झिनुपर्छ’ भनिएको छ। धर्मनिरपेक्षताको अर्को व्याख्या र मान्यता के हो भने, राज्यको आफ्नो कुनै धर्म हुँदैन र यसले कुनै धर्मलाई काखा र पाखा गर्न मिल्दैन। यहाँ धार्मिक र सांस्कृतिक स्वतन्त्रता सम्झिनुको अर्थ एउटै धर्मलाई च्याप्नुपर्छ भन्ने अर्थमा लिनु हुँदैन।

न पञ्चायतका प्रधानमन्त्री न त २०४६ सालपछिका प्रधानमन्त्रीले नै शपथमा स्वस्तिवाचन गराएका थिए। तर, विज्ञानका विद्यार्थी इन्जिनियर ३६ वर्षे युवा बालेन्द्र शाहले आफूलाई हिन्दु भन्ने, मान्ने र हातभरि औँठी लगाउने शेरबहादुर देउवालाई किन माथ गर्न खोजे?

त्यसो त रास्वपालाई ब्राह्मणहरूकै पार्टी पनि भन्न सकिन्छ, किनभने उसका कुल १८२ सांसदमा ब्राह्मण-क्षेत्रीसहित प्रत्यक्षमा १०२ जना छन् भने समानुपातिकमा ३१ प्रतिशत खस आर्यको कोटा त छँदै छ। त्यति मात्र होइन, चितवनको एउटा मन्दिरमा रास्वपा सभापति रवि लामिछाने, उनकी पत्नी निकिता पौडेल तथा सांसद सोविता गौतमले फूलमाला-टीकासहित हात जोडेर बसेको भिडिओमा मन्दिरका पूजारीले भट्याउँदै ‘नेपाल भनेको हिन्दुहरूको देश हो, यहाँ ३३ कोटि देवीदेउताको वास छ, त्यसैले यो देश हिन्दु सनातन हुनुपर्छ’ भन्दै गर्दा लामिछाने मुसुमुसु हाँसेको देखिन्छ। यसले पनि उनको हिन्दु सनातन धर्मप्रतिको मोह देखाउँछ। सम्भवतः यस्तै मोहको निरन्तरतास्वरूप बालेनको शपथग्रहणलाई पूरै हिन्दुमय बनाउन खोजिएको हुनुपर्छ।

हिन्दु धर्मले जनसंख्याको लगभग १४ प्रतिशत दलितलाई पशुभन्दा पनि तल्लो व्यवहार गर्ने गरेको जगजाहेर छ। यस्तोमा एक युवा प्रधानमन्त्रीको शपथग्रहण समारोहलाई हिन्दुमय बनाउन किन खोजिएको हो? यो घोर आपत्तिको विषय हो।

सरकारी तथ्यांकमा नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दु छन्। तर, तथ्यांकलाई विभिन्न कोणबाट विश्लेषण गर्दा आफूलाई कट्टर हिन्दु मान्ने ब्राह्मणको जनसंख्या १२ प्रतिशत, त्यसपछि क्षेत्रीको १६ प्रतिशत (स्मरण रहोस्, धेरै क्षेत्री आफूलाई मष्टोपूजक मतवाली क्षेत्री मान्छन्, जो हिन्दु होइनन्) र तीन प्रतिशत जति दशनामी र ठकुरी छन्। त्यसरी हिसाब गर्ने हो भने वास्तविक हिन्दु खस आर्य ३१ प्रतिशत मात्रै हुन आउँछन्।

जनसंख्याका ३७ प्रतिशत जनजातिहरूमध्ये धेरै प्रकृतिपूजक, किरात र बौद्ध धर्मावलम्बी छन्। मधेसका २२ प्रतिशत मधेसीमध्ये भूमिहार ब्राह्मण तथा राजपूतहरू पक्का हिन्दु हुन्, बाँकी छ्यासमिसे नै छन्। अहिले जम्मा तीन प्रतिशत क्रिस्चियन रहेकामा त्यसको लगभग दुई प्रतिशत दलित समुदायका रहेको बताइन्छ। हिन्दु धर्मले जनसंख्याको लगभग १४ प्रतिशत दलितलाई पशुभन्दा पनि तल्लो व्यवहार गर्ने गरेको जगजाहेर छ। यस्तोमा एक युवा प्रधानमन्त्रीको शपथग्रहण समारोहलाई हिन्दुमय बनाउन किन खोजिएको हो? यो घोर आपत्तिको विषय हो।

विभिन्न किताबहरूमा ब्राह्मण समुदायको एउटा गजबको चरित्र पढ्न पाइन्छ। भारतीय विद्वान् रजनीकान्त शास्त्रीले आफ्नो पुस्तक हिन्दु जातिका उत्थान और पतनमा भारतमा मुस्लिम आधिपत्यपछि खासगरी राजस्थानमा थुप्रै मुस्लिम शासक राजपुत क्षेत्रीका रूपमा हिन्दु बनेको लेखेका छन्। हिन्दु धर्मका रक्षक मानिने राजपुतहरूले आफ्ना छोरीचेलीलाई पनि मुस्लिम राजाहरूसँग विवाह गरिदिएका थिए। अकबरका धेरै श्रीमतीमध्ये जोधाबाई पनि राजपुत कन्या थिइन्। के बालेन्द्रको स्वस्तिवाचन शपथमा पनि ती भारतीयहरूको जस्तै राजनीतिक स्वार्थ त छैन? आशंकाका आधार भने प्रशस्त देखिन्छन्।