काठमाडौं। सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेन-जी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। १३ चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो।
बैठकले चार वटा निर्णय गरेको छ। जसमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, जेन–जी आन्दोलनका शहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्ने, शासकीय स्वरुप सुधारका १०० कार्यक्रम स्वीकृत गर्ने र सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
बैठकको निर्णय सार्वजनिक गर्दै पोखरेलले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय भएको बताए।
आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गरिने उनले बताए। अन्यको हकमा भने आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालय लगायतलाई निर्देशन दिने निर्णय भएको पोखरेलले बताए।