काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ चैत्र २०८२
सस्मित पोखरेल।
अ+
अ-

काठमाडौँ। २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाहलाई जिताउन अग्रपंक्तिमा खटिएका सस्मित पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

काठमाडौँ महानगरपालिकामा जस्तै बालेन्द्र नेतृत्वको सरकारमा उनी सारथि बन्न पुगेका छन् । २१ फागुनमा काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका उनले पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल, राप्रपा नेता कमल थापाजस्ता नेतालाई फराकिलो मतान्तरले जितेर आएका हुन् । उनले ३० हजार ७३७ मत प्राप्त गरी निर्वाचित भएका थिए।

अमेरिकामा प्लस टु तहसम्मको अध्ययन सकेर नेपाल फर्केका उनले कानुन र व्यवस्थापनमा स्नातक सकेका छन् । सस्मित वैकल्पिक राजनीतिक दल विवेकशील साझाबाट राजनीतिमा आएका थिए। हाल उनी रास्वपाका केन्द्रीय सदस्य, सह-प्रवक्ता हुन् ।

काठमाडौं महानगरपालिकामा सहरी योजना आयोगमा सहायक विज्ञ बनेर काम गरे। उनले विशेषगरी शिक्षा क्षेत्र सुधारका लागि नीति निर्माण, सामुदायिक विद्यालयको पूर्वाधार सुधार, प्रविधिमैत्री शिक्षा तथा बजेट व्यवस्थापनमा काममा भूमिका खेले ।

सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेका उनले महानगरपालिकामा छात्रवृत्ति वितरणलाई व्यवहारिक बनाउन सघाएका थिए। करिब २० हजार विद्यार्थीलाई महानगरपालिकाबाट छात्रवृत्तिको प्रावधान कार्यान्वयन गर्नमा भूमिका खेलेका थिए।

विद्यालयमा स्मार्ट बोर्ड जडान, विद्यालय गुरुयोजना, ‘बुक फ्री फ्राइडे’ कार्यक्रम, भौतिक सौन्दर्यीकरण, आईसीटीमैत्री विकास, ईसीडी कक्षाकोठा सुधार, दिवा खाजा र शिक्षक तालिम, करिब ३० हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गराउने भूमिकामा प्रत्यक्ष संलग्न थिए।

काठमाडौं ५ कै स्थायी बासिन्दा पोखरेलले काठमाडौं विश्वविद्यालय स्कुल अफ लबाट बीएएलएलबी गरेका छन्। उनले २०७२ को भूकम्पपछि राहत संकलन तथा व्यवस्थापनमा स्वयमंसेवी भूमिका निभाएका थिए।

राजनीतिक यात्रा भने विवेकशील अभियानबाट सुरु गरेका थिए। उनी विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्य पनि थिए। उनले राष्ट्रिय तहको राजनीतिमा प्रवेश गर्न २०७९ को निर्वाचनमा काठमाडौँ ५ (क) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर प्रदेशको चुनावमा पराजित भए।

महानगरको सार्वजानिक शिक्षा क्षेत्रलाई सुधार्न भूमिका खेलेका उनलाई शिक्षामन्त्रीको पदभार ग्रहण गरेपछि राष्ट्रव्यापी शैक्षिक सुधारको जिम्मेवारी आइपरेको छ।