काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप १० दिन इरानी ऊर्जा साइटहरूमा आक्रमण नगर्ने घोषणा गरेका छन्। नयाँ समयसीमा अब अप्रिल ६ को लागि तय गरिएको बीबीसीले जनाएको छ।
दुई देशहरूबीच जारी वार्तालाई अगाडि बढाउन यो निर्णय गरिएको उनले बताए। सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानी सरकारको अनुरोध बमोजिम १० दिन आक्रमणमा रोक लगाएको उनको भनाइ छ।
यसअघि ट्रम्पले इरानी ऊर्जा साइटहरूमा पाँच दिन आक्रमण नगर्ने घोषणा गरेका थिए, जुन समयसीमा शुक्रबार सकिँदै छ। इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे आक्रमण जारी राख्ने ह्वाइट हाउसले चेतावनी दिएको छ। इरान वार्तामा नआए अमेरिकाले लगातार आक्रमण गर्ने चेतावनी ट्रम्मले समेत दिएको बीबीसीले जनाएको छ।
ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गर्नका लागि गत शनिबार ४८ घन्टाको अल्टिमेटम दिएका थिए।
४८ घन्टे अल्टिमेटमपछि ट्रम्पले इरानलाई पाँच दिनभित्र हर्मुज नखोले बिजुली उत्पादन गर्ने इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की दिएका थिए। त्यसको समयावधि सकिन लागेपछि ट्रम्पले ऊर्जा संरचनामा प्रहार गर्ने योजना अप्रिल पहिलो सातासम्म लम्ब्याएका हुन्।
ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गरे मध्यपूर्वका सबैखाले पूर्वाधारमा आक्रमण गर्ने धम्की इरानले यसअघि नै दिएको थियो। यसबीच पाकिस्तानी अधिकारीहरूले मध्यस्थकर्ताको भूमिका खेल्दै युद्धविरामको प्रयत्न गरिरहेको छ। ट्रम्पले वार्ता सकारात्मक रहेको पनि बताएका छन्।