काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सीता बादीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको पदभार ग्रहण गरेकी छन्। रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको शुक्रबार नवगठित सरकारअन्तर्गत महिलामन्त्री नियुक्त भएकी हुन्।
रास्वपातर्फ समानुपातिक सांसद बनेकी उनी बादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्तिसमेत हुन्। यसअघि २०७४ को प्रदेश सभा निर्वाचनबाट बादी समुदायबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उमादेवी बादी निर्वाचित भएकी थिइन्।
कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका १४‚ स्थायी घर भएकी सीता दलित महिला क्लस्टरबाट सांसद बनेकी हुन्। २९ वर्षीया नवनियुक्त मन्त्रीले स्नातकोत्तर गरेकी छन्।
सीताले बाल्यकालदेखि नै संघर्ष गर्नुपर्यो। उनी आर्थिक रूपमा कमजोर पारिवारिक पृष्ठभूमिमा जन्मिएकी थिइन्। गुजारा चलाउन बाबुआमासँगै भेरी नदीकिनारमा बालुवा संकलन गर्ने र बेच्ने काम पनि गरिन्।
१२ वर्षको उमेरमा एक गैरसरकारी संस्थाको सहयोगमा पढ्नका लागि काठमाडौँ आउन पाएकी उनले उच्च शिक्षा हासिल गर्ने अवसर मात्रै पाइनन्। आत्मसम्मान र अधिकारबारे जान्ने, बुझ्ने र पैरवी गर्ने अवसर पाइन्।
उनले काठमाडौँको बूढानीलकण्ठमा बसोबास गर्दै पढाइसँगै माला, पोतेलगायत हस्तकलाका सामग्री उत्पादन तथा बिक्री-वितरण गर्ने व्यवसाय गरिन्।
सामाजिक संस्थामार्फत सिलाइकटाइ प्रशिक्षण दिएर महिलाको आर्थिक सशक्तीकरणको अभियानमा पनि जोडिइन्। बादी थर भएकै कारण जीवनमा थुप्रै हेला, विभेद र हिंसा सामना गरेकी उनले महिला सशक्तीकरणको आवाज उठाइन्।
बादी समुदायका महिलालाई यौनकर्मीका रूपमा हेर्ने गलत दृष्टिकोणको प्रतिवाद गर्न आवाज उठाउँदै आइन्। यही सिलसिलामा उनी रास्वपामा आबद्ध भएर राजनीतिमा प्रवेश गरेकी थिइन्।