राजनीति
एमालेमा पनि संसदीय दलको नेता छान्न ढिलाइ
प्रतिनिधिसभामा राष्ट्रिय दलमध्ये चार दलले आफ्नो संसदीय दलको नेता टुंगो लगाइसक्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा (एमाले)ले दलको नेता छान्न सकेका छैनन्। २१ फागुनमा भएको संसदीय निर्वाचनमा कांग्रेस र एमालेका वरिष्ठ नेताहरू पराजित भएपछि संसदीय दलको नेता चयन गर्न दलहरूलाई सकस र अन्योल परेको हो।
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका सभापति गगनकुमार थापासहित आठ जना पदाधिकारीले प्रतिस्पर्धा गरेका थिए। त्यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित १० जना पदाधिकारी प्रतिस्पर्धामा थिए। तर, सबै जना पराजित भए।
२७५ सदस्यीय प्रतिनिधिसभामा ३८ सिट जितेको कांग्रेस प्रमुख प्रतिपक्षी दल हो। प्रमुख प्रतिपक्षी दलको नेतालाई संसद्मा विशेष सुविधा हुन्छ।
कांग्रेस र एमाले दुवै दलभित्र प्रत्यक्ष रूपमा निर्वाचित युवा सांसदहरूलाई दलको नेतामा अवसर दिनुपर्ने माग उठेको छ। तर, पुरानै नेताहरूको नाममा छलफल सुरु भएको छ। कांग्रेसमा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यको नाममा छलफल भइरहेको नेताहरूले बताएका छन्।
समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका ७८ वर्षीय केसी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य हुन्। बिहीबार (१२ चैत) उनले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए। कांग्रेसका पूर्वसहमहामन्त्री आङ्देम्बे पनि समानुपातिकबाट सांसद बनेका हुन्। उनी पूर्वसभापति शेरबहादुर देउवानिकट मानिन्छन्। यस्तै, निर्माण व्यवसायी आचार्य रसुवाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
सभापति थापानिकट एक नेताले केसी दलको नेता नभइदिए हुन्थ्यो भन्ने पक्षमा थापा रहेको बताए। केसी थापाका सुसुरा हुन्। समानुपातिक सांसदमा केसीको छनोटको विषयमा थापाको आलोचना हुँदै आएको छ।
एमालेमा भने उपाध्यक्ष रामबहादुर थापालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु भएको छ। पूर्वमाओवादी नेता थापा पार्टीको दोस्रो वरीयताका नेता हुन्। २०७५ सालमा एमाले र माओवादीबीच एकता भएर नेकपा भएदेखि नै थापा अध्यक्ष ओलीको निकट रहँदै आएका छन्। नेकपा विभाजन भएपछि उनी माओवादीतर्फ नलागी एमालेमै रहे।
एमालेमा इलाम २ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्बाङले पनि संसदीय दलको नेतामा दाबी गरेका छन्। बिहीबार सांसदको शपथग्रहण समारोहमा पत्रकारहरूसँग कुरा गर्दै उनले जिम्मेवारी दिए पछाडि नहट्ने बताएका थिए। “सामाजिक सञ्जाल र बाहिर जुन रूपमा कुरा उठेको छ, उहाँहरूको शुभेच्छा र सद्भावना हो। त्यसलाई म सम्मान गर्छु। पार्टीले कुनै पनि हिसाबले तिमी अघि बढ भन्दा म खुट्टा कमाउँदिनँ,” उनले भने।

१२ चैतमा बसेको एमाले संसदीय दलको बैठक। तस्बिर : नेपाल फोटो लाइब्रेरी
एमालेकी सचिव तथा सांसद पद्मा अर्याल संसद् बैठक सुरु हुनुअघि नै संसदीय दलको नेता छानिसक्ने बताइन्। “संसद्को बैठकअघि नै हामी संसदीय दलको नेता छानिसक्छौँ। केही दिनमा पार्टी सचिवालय बैठक बस्छ, त्यसमा छलफल हुन्छ,” अर्यालले भनिन्, “नामहरूको बारेमा छलफल भएको छैन।”
प्रतिनिधिसभामा एमालेका २४ सांसद छन्।
कांग्रेस र एमालेबाहेकका दलहरूले भने केही संसदीय दलको नेता छानिसकेका छन्, कतिले तय गरिसके पनि औपचारिक घोषणा गर्न बाँकी छ। रास्वपाले संसदीय दलको नेता बनाएसँगै बालेन्द्र शाह शुक्रबार बहुमतको सरकारको प्रधानमन्त्री नियुक्त भएर कार्यभार सम्हालिसकेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानबहादुर शाहीलाई दलको नेता बनाएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीले हर्कराज राईलाई संसदीय दलको नेता बनाउनेछन्। नेकपाका नेता जगन्नाथ खतिवडाले भने, “औपचारिक रूपमा घोषणा गरिएको छैन, तर संयोजक नै संसदीय दलको नेता बन्नुहुन्छ।”
श्रम संस्कृति पार्टीका राईले यसअघि नै आफू संसदीय दलको नेता हुने बताइसकेका छन्।