काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो पक्राउ राजनीतिक पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित भएको दाबी गरेका छन्। शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले आफूविरुद्धको कारबाहीलाई अस्वीकार गर्दै राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने बताएका छन्। ‘मलाई पूर्वाग्रही ढंगले पक्राउ गरिएको छ, यसको राजनीतिक र कानुनी लडाइँ लड्नेछु,’ उनले भने।
लेखकले मन्त्रिपरिषद् निर्णयबाटै व्यक्तिलाई पक्राउ गर्नु कानुनी प्रक्रिया विपरीत भएको आरोप पनि लगाए। ‘क्याबिनेटबाटै पक्राउ गर्ने निर्णय हुनु कानुनको उपहास हो, यस्तो अभ्यास कहीँ पनि हुँदैन,’ उनले टिप्पणी गरे।
यसैबीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो पक्राउलाई प्रतिशोधपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्।
यता गृहमन्त्री सुधन गुरुङले भने सरकारको कदम कानुनी दायराभित्र रहेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत उनले ‘कानुनभन्दा माथि कोही नहुने’ उल्लेख गर्दै यो कारबाही प्रतिशोध नभई न्याय स्थापनाको सुरुवात भएको बताएका छन्।