काठमाडौँ। देशभर एकै दिन १६ स्थानमा आगजनीका घटना भएका छन्। यस्तै, तीन स्थानमा डढेलो लागेको छ। सुक्खा मौसमका कारण देशभर आगजनीका घटनामा वृद्धि भएकाले सचेतना अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणका अनुसार, चैत १२ गते बिहानदेखि चैत १३ गते बिहानसम्म देशभर २५ विपद्का घटना भएका थिए। विपद्का कारण रु ७४ लाख सात हजार बराबरको धनमालको क्षति भएको छ।
घटना विवरण अनुसार, उखुको पात सल्काउँदा, खाना पकाउने क्रममा चुल्होबाट हावाले आगो उडाउँदा आगलागी भएका छन्। ग्यास चुहिएर, वा सलाई खेलाउँदा पनि आगलागी भएको छ। सामान्य सावधानी अपनाउँदा समेत रोकथाम गर्न सकिने भए पनि लापरबाहीका कारण आगलागीका घटनामा वृद्धि भएको विवरणहरूमा देखिन्छ।
प्राधिकरणका अनुसार, ललितपुर, रुपन्देही र सल्यानका विभिन्न जङ्गलमा डढेलो लागेको थियो। यस्तै, बर्दिया, रुकुम पूर्व, दाङ, रुपन्देही, बागलुङ, कास्की, ललितपुर, काभ्रेपलान्चोकका एक एक स्थानमा आगलागीका घटना भएका छन्। रौतहट, मोरङका दुई दुई स्थानमा आगलागीका घटना हुँदा सुनसरी, उदयपुर, सिरहाका एक एक स्थानमा पनि सामान्य सावधानी नअपनाउँदा ठूलो क्षति भएको छ।
यस्तै, कञ्चनपुरमा सर्पको टोकाइबाट दुई जना घाइते भएका छन्। पदयात्रामा गएका दुई पदयात्रीलाई मुस्ताङमा लेक लागेको छ।
पाँचथर, भक्तपुर, नवलपरासी पूर्व र गुल्मीमा भने जनावर आक्रमणका घटना भएका छन्। प्राधिकरणले विपदमा जोगिन पूर्व सावधानी अपनाउन आग्रह गरेको छ।