काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ ।
शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै आइतबार अदालतमा पेस गर्नेछ । प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गरिने छ ।
प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । तर, त्यसका लागि आइतबार जिल्ला अदालतले अनुमति दिनुपर्ने हुन्छ ।
बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।