काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ चैत्र २०८२
अ+
अ-

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारको कदमको कडा आलोचना गरेका छन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक हुनुको सट्टा संयमित हुनुपर्ने बताएका छन्। उनले भने, “प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटोमा जानु पर्दछ।”

उनले घटनाले कानुनी राज्य र विधिको शासनको उपहास भएको जस्तो देखिनु स्वीकार्य नभएको पनि बताएका छन्। भट्टराईले घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन्।

यसैबीच, उनले एमाले अध्यक्ष ओली र नेपाली कांग्रेस नेता लेखकको गिरफ्तारीको निन्दा गर्दै अविलम्ब रिहाइको माग गरेका छन्।

भट्टराईले सरकारलाई जनताबाट प्राप्त जनादेशको दुरुपयोग नगर्न ध्यानाकर्षण गराउँदै आफ्नो पार्टीले कानुनी र राजनीतिक मार्गबाट अघि बढ्ने पनि स्पष्ट पारेका छन्।