काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलेको राजनीतिक घटनाक्रमलाई प्रतिशोधको संज्ञा दिएका छन्। उनले विगतमा राज्यका प्रमुख प्रशासनिक भवन जलाउने र भत्काउनेलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका छन्।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले मानिसहरूले आफ्नो कुरा ढिलो गरी बुझ्ने गरेको बताए।
आफूले विगतमा ओखलढुंगामा भएको एक कार्यक्रममै अरू जसले जिते पनि प्रतिशोधको राजनीति हुने तर प्रगतिको राजनीति आफ्नो पार्टीले मात्र गर्ने बताएको उनले स्मरण गराएका छन्। ओली र लेखकको पक्राउतर्फ लक्षित गर्दै उनले अब देशमा यस्तै प्रतिशोध मात्र देखिने र लगातार आन्दोलन मात्र हुने दाबी गरे।
साम्पाङले राज्यको सम्पत्ति नष्ट गर्नेहरूप्रति आक्रोश पोख्दै सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र कैयौँ सरकारी भवन जलाउने तथा भत्काउने कार्यका अगुवाहरूलाई पनि तत्काल पक्राउ गर्नुपर्ने माग गरे। त्यस्ता कृत्यमा संलग्नहरूलाई गिरफ्तार गरेर ‘भाटै-भाटा’ लगाउनुपर्ने उनको माग छ।