नोएडा। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा भएको युद्धले धेरै मुलुकमा खाद्यान्न तथा इन्धन अभाव सिर्जना भएको बताएका छन्।
जेवरस्थित नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको उद्घाटनका क्रममा शनिबार उनले मध्यपूर्वमा भइरहेको युद्धलाई उल्लेख गर्दै भने, “तपाईंहरू सबैले देख्न सक्नुहुन्छ कि विश्व कति चिन्तित छ। विगत एक महिनादेखि पश्चिम एसियामा युद्ध चलिरहेको छ। यस युद्धका कारण धेरै देशमा खाद्यान्न, पेट्रोल, डिजेल, ग्यास र अन्य आवश्यक वस्तुहरूको अभाव भएको छ।”
प्रधानमन्त्री मोदीले सामान्य परिवार र किसानहरू यस संकटबाट पीडित नहुन भनेर सरकारले हरेसम्भव कदम चालिरहेको बताए। “प्रत्येक देशले यसको सामना गर्न प्रयास गरिरहेको छ। हाम्रो देशले पनि आफ्ना नागरिकहरूको शक्तिमा भर पर्दै पूर्ण शक्तिका साथ यो संकटको सामना गरिरहेको छ‚” प्रधानमन्त्री मोदीले भने‚ “भारतले युद्ध भइरहेको क्षेत्रबाट ठूलो मात्रामा कच्चा तेल र ग्यास आयात गर्दछ। त्यसैले सरकारले सामान्य परिवार र हाम्रा किसानहरू यस संकटबाट भारित नहोस् भनेर सुनिश्चित गर्न हरेक सम्भव कदम चालिरहेको छ।”
उनले यस्तो अवस्थामा राजनीतिक दलहरूले मुलुकलाई हानि पुर्याउनेखालका अभिव्यक्त नदिनका लागि अनुरोधसमेत गरे। “म उत्तर प्रदेश र सम्पूर्ण देशका सबै राजनीतिक दलहरूलाई यस समयमा देशलाई हानि पुर्याउने कुनै पनि बयान दिनबाट टाढा रहन अपिल गर्दछु। भारत सरकारको नीतिहरू सधैं राष्ट्रिय हितलाई ध्यानमा राखेर बनाइन्छ‚” प्रधानमन्त्री मोदीको भनाइ छ।
यस्तै उनले देशलाई हानि पुर्याउनेलाई जनताले कहिल्यै माफ नगर्ने पनि बताए। सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भने, “गैरजिम्मेवार राजनीतिक भाषण गर्नेहरूलाई क्षणिक रूपमा फाइदा हुन सक्छ। तर जनताले देशलाई हानि पुर्याउने कार्यहरूलाई कहिल्यै माफ गर्दैनन्। कोभिड संकटको समयमा पनि केही मानिसहरूले खोपबारे अफवाह र गलत जानकारी फैलाए। तर जनताले त्यस्तो राजनीतिलाई अस्वीकार गरे।” -बीबीसी हिन्दीन्युज