काठमाडौं । २४ भदौमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न आरोपमा हालसम्म ९४९ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार जेन–जी आन्दोलनको आवरणमा विभिन्न आपराधिक गतिविधि भएको भन्दै देशभरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार यी घटनासम्बन्धी ७८७ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये ६५८ मुद्दा फर्स्योट भइसकेका छन् भने १२९ मुद्दा अझै अनुसन्धानको क्रममा छन्।
पक्राउ परेकामध्ये २०७ जना पुर्पक्षका लागि थुनामा रहेका छन्। त्यस्तै, ४७० जना धरौटीमा र २४३ जना हाजिरी–जमानीमा छुटेका छन् भने २१ जना साधारण तारेखमा रिहा भएका छन्। हाल आठ जना हिरासतमा रहेको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट थुनामा पठाइएका १८ जना भने पछि माथिल्लो अदालतको आदेशमा धरौटीमा छुटेका छन्।
प्रहरीले केही आरोपी अझै फरार रहेको जनाएको छ। सर्वोच्च अदालतमा आगजनी गर्ने, नेताहरूका घरमा लुटपाट गर्ने तथा प्रहरीको हतियार लुट्ने जस्ता गम्भीर आरोपमा समेत कारबाही भइरहेको छ। यस्ता घटनामा संलग्नमाथि डकैती, हातहतियार, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र नैतिकताविरुद्धका मुद्दा दर्ता गरिएको छ।
यसैबीच, सरकारले २४ भदौको घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त समिति गठन गर्ने निर्णय गर्दै घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी तोकिएको समयभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।