काठमाडौँ। धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्या मन्दिरसम्मको आफ्नो दौड यात्रा पूरा गरेका छन्।
करिब ४५० किलोमिटर दूरी ५५ वर्षीय कार्कीले १३ चैत रामनवमीका दिन पूरा गरेको जनाएका छन्। एकतर्फी दौड पूरा गरी कार्की आइतबार स्वदेश फर्किएका छन्।
गोदावरी नगरपालिका १, गोदामचौरमा आफैँले निर्माण गरेको हनुमान मन्दिरमा २७ फिट अग्लो पित्तलको गदा निर्माणका लागि सहयोग संकलन गर्ने अभियानलाई निरन्तरता दिन कार्कीले अयोध्यासम्मको दौड यात्रा गरेका हुन्।
कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँचपटक, काठमाडौँदेखि दोलखा तीनपटक, काठमाडौँ-बुटवल एकपटक, काठमाडौँदेखि सिन्धुली तीनपटक र काठमाडौँदेखि उत्तर प्रदेश एकपटक दौडेर पुगेका थिए।
त्यस्तै उनले काठमाडौँदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिलिङसम्म दौडेका थिए। कार्कीका अनुसार २०६४ सालमा १०१ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्ला दौडेर पुगेका थिए।