काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

आगामी २२ जेठदेखि हुने नेपाल कबड्डी लिग सिजन-२ का ६ टिमका मालिक सार्वजनिक

१५ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ।

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित कार्यक्रममार्फत फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरिएको हो।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेस्टमेन्ट होल्डिङ प्रालिले विराटनगरको टिम लिएको छ। यो टिम नाम परिवर्तन गर्दै विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनेको छ। पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत् छ। उपविजेता काठमाडौँ माभरिक्सको स्वामित्व काठमाडौँ माभरिक्स प्रालिमा पुगेको छ।

त्यस्तै फेवा कन्स्ट्रक्सन प्रालिले पोखरा लिकर्स लिएको छ भने मोराई कर्पोरेसन प्रालिमा बुटवल बुल्सको स्वामित्व छ। योसँगै हिमालयन राइडर्सका रूपमा पहिलो संस्करणमा प्रतिस्पर्धा गरेको बुटवलको टिमको नाम बुटवल बुल्स बनेको छ। धनगढी वाइल्ड क्याट्स प्रालिको नाममा सुदूरपश्चिमको प्रतिनिधि टिम धनगढी वाइल्ड क्याट्स भएको छ।

देशमा लोकिप्रय भइरहेको एनकेएलमा व्यापारिक तथा व्यावसायिक घराना आबद्ध गर्न पाएकामा खुसी व्यक्त गर्दै एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले भने, “पहिलो संस्करण भव्य रूपमा आयोजना गरेका थियौँ। दोस्रो संस्करणलाई थप उत्कृष्ट बनाउनेछौँ। कर्पोरेट हाउसहरूको आबद्धताले लिगलाई थप उचाइ दिनेछ। हामी सबैले नेपाली कबड्डीलाई विश्वमै अब्बल बनाउनेछौँ।”