काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन निर्देशन दिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज (आइतबार) भएको कार्यक्रममा उनले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिए।
गृहमन्त्री गुरुङले नागरिकलाई समस्या परेकाबेला राज्यले जुनसुकै स्रोतसाधन परिचालन गर्न हिच्किचाउन नहुने बताए। उनले भने, “नागरिकको जीवन बचाउनु राज्यको सबैभन्दा महत्त्वपूर्ण दायित्व हो । त्यसैले जुनसुकै विपद्का लागि तयारी अवस्थामा रहन आवश्यक छ ।”
प्राधिकरणले गरिरहेका कार्यबारे जानकारी लिएपछि उनले विद्यालय तथा क्याम्पसका पाठ्यक्रममा विपद्सम्बन्धी विषयवस्तु राखिनुपर्ने र विद्यार्थीलाई विपद्सम्बन्धी आधारभूत तालिम दिनुपर्नेमा पनि जोड दिए।
प्राधिकरणका प्रमुख कार्यकारी दिनेशप्रसाद भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि हाल सम्पादन भइरहेका कार्य, आगामी प्राथमिकता एवं चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए।