काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ चैत्र २०८२
अ+
अ-

बैंकक। थाइल्यान्डमा बसोबास गर्दै आएका नेपाली मूलका समुदायलाई एकीकृत गर्ने उद्देश्यले एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को थाइल्यान्ड राष्ट्रिय कमिटी गठन गरिएको छ। बैंककमा आयोजित विशेष कार्यक्रममा पाँचौँ पुस्ताकी थाइल्यान्डमै जन्मिएकी अमरा राई अध्यक्ष चयन भएकी छन्।

कार्यक्रम तीन चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा स्थानीय नेपालीसँग अन्तर्क्रिया, दोस्रो चरणमा नेपाली सांस्कृतिक प्रस्तुति र अन्तिम चरणमा कमिटी गठन गरिएको थियो। कार्यक्रममा थाइल्यान्ड र म्यानमार (बर्मा) मा पुस्तौँदेखि बसोबास गर्दै आएका नेपाली मूलका व्यक्तिको सहभागिता थियो।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले एएनओको अभियानले विदेशमा रहेका नेपाली मूलका समुदायमा भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले स्थानीय नेपाली संस्थासँग सहकार्य गर्दै नेपाली भाषा र संस्कृतिको प्रवर्द्धन गर्न सुझाव दिए।

कार्यक्रममा एएनओका महासचिव चूडामणि भट्टराईले नेपाल सरकारले हालै गरेको व्यवस्थाअनुसार अब नेपाली मूलका व्यक्तिहरू नेपाल जाँदा विमानस्थलमा विदेशीको लाइनमा बस्न नपर्ने जानकारी दिए। यस निर्णयले विश्वभरका नेपाली मूलका व्यक्तिमा सम्मानको भावना अभिवृद्धि भएको उल्लेख गरे। उनले यसका लागि नेपाल सरकारप्रति आभार व्यक्त गरे। कार्यक्रममा यसलाई इतिहासमै पहिलोपटक नेपाली मूलका विदेशी नागरिकलाई सम्बोधन गरिएको कदमका रूपमा चर्चा गरिएको थियो।

क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्राध्यापक मोहन डाँगीले ‘नेपालीपन’ को विस्तार गर्ने एजेन्डा सराहनीय रहेको बताए। नेपाल पोलिसी इन्स्टिच्युटका अध्यक्ष खगेन्द्र ढकालले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तीन पुस्ताभित्रका नेपालीलाई मात्र समेट्ने सीमितताबीच एएनओले त्यसबाहिरका समुदायलाई समेट्ने प्रयास स्वागतयोग्य रहेको धारणा राखे।

त्यस्तै थाई नेपाली संघका उपाध्यक्ष विनोद लामिछानेले कार्यक्रमबारे पूर्वजानकारी भएको भए अझ व्यापक सहभागिता हुन सक्ने टिप्पणी गरे। कार्यक्रममा एनआरएनए एसिया प्रशान्त क्षेत्रका उपप्रमुख भविन्द्र बस्नेत, प्राध्यापक भारती लिम्बुनीलगायतको सहभागिता थियो। कार्यक्रममा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘डान्स युनिभर्स’ का सिजन १ र २ मा सहभागी थाइल्यान्ड र म्यानमारका कलाकारहरूले नेपाली पहिचान र मातृभूमिप्रतिको भावनालाई झल्काउने सांस्कृतिक प्रस्तुति दिएका थिए।

एएनओको बोर्ड अफ ट्रस्टी सदस्य वात्सना राई र केन्द्रीय कार्यसम्पादन समितिका सदस्य राज कर्माचार्यको उपस्थितिमा गठित थाइल्यान्ड कमिटीमा मिलन घिमिरे, नरेश पाण्डे, सोनिया राई, एमी राई, वसन्ती प्रधान, दीपा पौडेल, अस्मिता न्यौपाने, सुमन कार्की र विक्की सेन्चुरी सदस्य छन्। नयाँ कमिटीले थाइल्यान्डमा रहेका नेपाली मूलका समुदायलाई संगठित गर्दै भाषा, संस्कृति र पहिचान संरक्षणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।