चिकित्सकले लेखे- ‘नो एक्टिभ इन्टरभेन्सन फ्रम कार्डियाकसाइट’
काठमाडौँ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको सिफारिसअनुसार सरकारले १४ चैतमा पक्राउ गरेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ।
त्रिवि शिक्षण अस्पतालको उच्च स्रोतबाट नेपालन्युजले ओलीको स्वास्थ्य परीक्षण रिपोर्ट प्राप्त गरेको छ। रिपोर्टअनुसार ओलीको मुटुको चाल गडबड भएर अस्पताल भर्ना गरिए पनि अहिले मुटु र छातीको अवस्था सामान्य छ। रिपोर्टमा शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाले लेखेका छन्- ‘नो एक्टिभ इन्टरभेन्सन फ्रम कार्डियाकसाइट’ यसको अर्थ हुन्छ- ओलीलाई अहिले मुटुको उपचार जरुरी छैन। स्वास्थ्य परीक्षण रिपोर्टअनुसार ओलीको रक्तचाप १२०/७० छ भने पल्स ७६ छ‚ जुन सामान्य हो।

ओलीको ईसीजी रिपोर्ट।
ओलीको इको र ईसीजीको रिपोर्ट पनि सामान्य छ। चिकित्सकका अनुसार ओलीको मुटुको कार्यक्षमता ७० प्रतिशत देखिएको छ। १४ चैतको बिहानै गुन्डुस्थित निवासबाट पक्राउ गरिएका ओलीलाई प्रहरीले सुरुमा काठमाडौँ प्रहरी परिसर ल्याएको थियो। त्यसपछि उनलाई अस्पताल पुर्याएको थियो। शिक्षण अस्पतालले १५ चैतमा जारी गरेको ‘हेल्थ स्टेटमेन्ट’मा ओलीको धड्कन बढेको‚ सुगरको लेबल बढेको‚ दुईपटक मिर्गौला प्रत्यारोपण गरेको‚ थाइराइड बढेको‚ पित्तथैलीमा पत्थरीलगायत समस्या भएको भन्दै चिकित्सकको निगरानीमा राखेर उपचार जारी रहेको उल्लेख छ।

ओलीको स्वास्थ्य परीक्षण रिपोर्ट।
सुरुमा उनलाई शिक्षण अस्पतालको आकस्मिक कक्षको रेडजोनको २७ नम्बर शय्यामा राखेर उपचार सुरु गरिएको थियो भने पछि उनलाई त्रिविको एनेक्स वानको बेड नम्बर ५०१ (भीआईपी क्याबिन) मा राखेर थप उपचार गरिएको छ। उनी अहिले यही शय्यामा छन्। मुटुरोग विशेषज्ञ प्रा.डा. चन्द्रमणि पौडेलको टोलीले विस्तृत स्वास्थ्य परीक्षणपछि ओलीलाई अहिले मुटुको कुनै पनि उपचार गर्नु नपर्ने टुंगोमा पुगेको छ। साथै उनलाई डिस्चार्ज गर्न कुनै समस्या नरहेको जनाइएको छ।

त्रिवि शिक्षण अस्पातालले ओलीको स्वास्थ्यबारे जारी गरेको ‘हेल्थ स्टेटमेन्ट’
उपचारमै रहेका ओलीले आज अदालतमा भर्चुअल बयान दिए। यसअघि पनि विशिष्ट तथा अतिविशिष्टहरूले कुनै अभियोगमा पक्राउ परेपछि प्रहरीको हिरासत छल्न अस्पताल प्रशासन र चिकित्सकको साँठगाँठमा अस्पतालमा बस्ने गरेका छन्।