काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गर्नुको कारण माग गरेको छ। सर्वोच्चले जाँचबुझ आयोगको प्रतिवेदन र अनुसन्धानका क्रममा तयार पारेको सक्कल मिसिल माग गर्ने पनि आदेश गरेको छ।
ओलीलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले थुनामुक्त गर्न मागसहित आइतबार बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए।
दुवैजनाको आज फरक-फरक इजलासमा प्रारम्भिक सुनुवाइ पछि सर्वोच्चले जाँचबुझ आयोगको प्रतिवेदन र पक्राउ गर्दाको मिसिल तीन दिनभित्र अदालतमा पेस गर्न आदेश गरेको छ। रिट निवेदकहरूले जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा सिधै पक्राउ गरेर थुनामा राख्नु गैरकानुनी भएकाले थुनामुक्त गर्न माग गरेका छन्।
२३ र २४ भदौको जेन-जी आन्दोलनको मानवीय र भौतिक क्षतिको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगले सुशीला कार्की नेतृत्वको सरकारलाई प्रतिवेदन बुझाएको थियो।
सरकारले आधिकारिक रूपमा प्रतिवेदन सार्वजनिक गरेको छैन। तर, आयोगले दिएको प्रतिवेदनका आधारमा शनिबार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि ओली त्रिवि शिक्षण अस्पतालको रेड-जोनमा उपचाररत छन्। लेखकलाई नेपाल प्रहरीको २ नम्बर गणमा राखिएको छ।
दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको समय दिइएको छ।