काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

आयल निगम अझै घाटामा

१७ चैत्र २०८२
नेपाल आयल निगम। तस्बिर : शम्भु रेग्मी
अ+
अ-

काठमाडौँ। नेपाल आयल निगम लिमिटेड पेट्रोल‚ डिजेल/मट्टीतेल र एलपी ग्यासको खुद्रा मूल्य यथावत् राखेको छ। तर हवाई इन्धनको मूल्य भने बढाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेका बेला पनि निगमले ठूलो आर्थिक भार वहन गरिरहेको जनाएको छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार पछिल्लो एक महिनादेखि मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्दै गएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीले समायोजन हुन नसक्दा निगम १६ मार्चदेखि ३१ मार्चसम्म करिब दुई अर्ब ५८ करोड रुपैयाँ घाटामा गएको छ।

नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ६.४१ रुपैयाँ, डिजेलमा ६.४३ रुपैयाँ र हवाई इन्धनमा ९.१२ रुपैयाँसम्म लागत बढेको निगमको भनाइ छ। यद्यपि उपभोक्तामाथि थप भार नपार्ने उद्देश्यले निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य यथावत् राख्ने निर्णय गरेको हो।

यो पनि…

अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च, प्रति ग्यालन ४ डलर नाघ्यो

निगम सञ्चालक समितिको निर्णयअनुसार अब हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर १२७ बाट बढाएर २५१ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा पनि अमेरिकी डलरमा मूल्य वृद्धि गरिएको छ।

निगमले भने अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको दबाब निरन्तर रहँदा मूल्य समायोजन नगरे घाटा अझै बढ्ने देखिन्छ। हालको अवस्थालाई कायम राख्दा मासिक रूपमा करिब १३ अर्बभन्दा बढी घाटा हुने प्रक्षेपण गरिएको छ।

साथै आईओसीबाट आपूर्ति नियमित भए पनि समयमै भुक्तानी गर्न नसक्दा आपूर्ति व्यवस्थापनमा समेत चुनौती देखिएको निगमले जनाएको छ।

निगमले उपभोक्तालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गर्दै वर्तमान जटिल परिस्थितिमा सहयोग गर्न सबै सरोकारवालासँग अपिलसमेत गरेको छ।